सम्पर्क

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित : अध्यक्ष बस्नेत

रौतहट, ५ जेठः प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र मानवजीवन सुरक्षित हुने धारणा राख्नुभएको छ ।तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा आयोजित ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ’ अभियानअन्तर्गत आज रौतहटको चन्द्रपुर नगरपालिका—९ चेतनगर, मरधर, सिन्धुरेघारीमा भएको वृक्षारोपण कार्यक्रममा अध्यक्ष बस्नेतले त्यस्तो धारणा राख्नुभएको हो । उहाँले जलवायु परिवर्तनका कारण नेपालमा गम्भीर असरले परिरहेकाले यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमले पनि सचेतनावृद्धिमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव गोबिन्द चौलागाइले समाजमा रहेका प्रत्येक नागरिकले आफ्नो जन्मदिनमा कम्तिमा एउटा बिरुवा रोपेर पर्यावरण जोगाउन सकारात्मक सन्देश फैलाउनुपर्ने बताउनुभयो । उहाँले अभियानलाई देशका ७७ जिल्लाका सात सय ५३ स्थानीय तहमा पुर्याउन आवश्यक रहेकामा जोड दिनुभयो ।कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, जन्मदिनलाई सतकर्ममा जोडौं अभियानका रौतहट संयोजक श्याम श्रेष्ठ, अग्रज पत्रकार मुकुन्द दाहाललगायत वृक्षरोपणको महत्वबारे धारणा राख्नुभएको थियो ।त्यसअवसरमा रुद्राक्ष, पिपल, चन्दन, साल, खयर, बाँसलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए ।रासस