दुर्गा श्रेष्ठ जुगल, सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाले स्थानीय पाठ्पुस्तक तयार गरी पढाउन शुरु गरेको छ । गाउँपालिका भित्रका सबै विद्यालयमा ‘हाम्रो जुगल ’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन शुरु गरिएको हो । गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको गाउँपालिकाका अध्यक्ष रेशम स्याङबोले जानकारी दिनुभएको छ । उँहाले गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम सञ्चालनमा ल्याइएको बताउँनु भयो ।
उँहाले ‘शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनका बारेमा अवगत गराउन पाठ्यपुस्तक तयार गरी लागू गरेका छौँ’, भन्नु भयो । उँहाले राष्ट्रिय पाठ्यक्रम प्रारुपले स्थानीय तहलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको बताउँनु हँुदै स्थानीय पाठ्यक्रमले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी दिन सहज हुने बताउँनु भयो । उँहाले स्थानीय तहका सांस्कृतिक, ऐतिहासिक र आर्थिक विशेषतासमेतको जगेर्ना गर्ने लक्ष्य राखिएको समेत जानकारी दिनु भयो । ‘स्थानीय पाठ्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका विशेषतासहितको अध्ययन र अनुसन्धान गर्न सजिलो भएको छ, छायाँमा परेका विषयवस्तुलाई संरक्षण गर्न सहज हुने छ’, अध्यक्ष स्याङबो ले भन्नु भयो । गाउँपालिकाभित्र रहेका ४० सामुदायिक विद्यालयले पाठ्यपुस्तक अध्यापन गराइरहेका शिक्षा अधिकृत प्रदिप पराजुलीले जानकारी दिनु भयो ।
