सम्पर्क

जुगल हिमालको सफल आरोहण

नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएका अवसरमा आरोहण सुरु गरिएको जुगल हिमाल– १ को सफल आरोहण भएको छ ।
६ हजार ५ सय ९१ मिटर अग्लो जुगल–१ हिमाल सफलताको साथ आरोहण सम्पन्न गरिएको आरोहण दलका नेपाली टोली प्रमुख विश्व कीर्तिमान आरोही दावा याजुम शेर्पालाई उद्धृत गर्दै जुगल पर्यटन समितिका अध्यक्ष मिलन तामाङले जनाउनुभयो । आरोहण दलमा ३ नेपालीसहित ७ कोरियन आरोही सहभागी रहनुभएको थियो । आरोहण दलले शुक्रबार दिउँसो ३ बजेर ४० मिनेटमा चुचुरोमा पाइला राखेको तामाङले जानकारी दिनुभयो ।
चैत २६ देखि आरोहण सुरु गरेको आरोहण दल काठमाडौंबाट सिन्धुपाल्चोकको अरनिको हाइवे हुँदै बलेफी, नौविसे, जलविरे सडकबाट जुगलको ढाँडे, गुम्बा, तेम्बाथान हुँदै वैशाख ७ गते जुगलको आधार शिविर पुगेको थियो। कोरियाली आरोहण दलको नेतृत्व प्रख्यात आरोही उम हुङ गिलले गर्नुभएको थियो ।
आरोहण दलले जुगल– १ को सफल आरोहणले सिँगो जुगल गाउँपालिकाको शिर उँचो भएको भन्दै पालिका अध्यक्ष रेशम स्याङ्बोले आरोहीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ । उहाँले सो दललाई जुगल– २ को सफल आरोहणका लागि शुभकामना समेत व्यक्त गर्नुभएको छ । जुगल हिमाललाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसारका लागि यो आरोहणले थप मद्दत पुग्ने उहाँको भनाइ छ ।
आरोहण दलले अब ६ हजार ५ सय १८ मिटरको जुगल– २ हिमाल आरोहण गर्नेछ । आरोहण दललाई चैत २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले ढाका टोपी र सयपत्रीको मालासहित नेपाल र दक्षिण कोरियाको राष्ट्रिय झण्डा हस्तान्तरण गरी विदाई गर्नुभएको थियो । आरोहीलाई प्रोत्साहन स्वरुप गएको चैत ८ गतेको सरकारको मन्त्रिपरिषद् बैठकले जुगल हिमाल आरोहण गर्ने १० जना आरोहीहरूका लागि सलामी दस्तुर मिनाहा गर्ने निर्णय गरेको थियो ।