काठमाण्डौँ महानगरपालिकाका प्रमुख बालेन शाहले अशक्त र गरिबले स्थानीय तहबाट सिफारिस लिएर आउनुुस्, काठमाण्डौँ महानगरले निःशुल्क उपचार गर्ने बताउनुभएको छ ।
उहाँले आइतबार सामाजिक सञ्जालमार्फत नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीले आफ्नो स्थानीय तहबाट विपन्न, असहायको सिफारिस लिएर आएमा काठमाण्डौंका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था हुने जानकारी गराउनुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला । हामीसँग ५२ अस्पतालका ३७४ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ । तपाईको टोल छिमेक वा आफन्ताहरू यो वर्गमा पर्नुहुन्छ भने खबर गरिदिनुहोला ।’
उहाँले सम्पर्क नम्बर ११८० वा, काठमाडौँ महानगरको स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ । विपन्न र असाहय बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातहरु काठमाडौँ महानगरले आफ्नो वेबसाइटमा पनि सूचना राखेको छ ।
