सम्पर्क

सिन्धुपाल्चोकमा सुत्केरीको लागि ब्लड बैंक नहुँदा समस्या

 

 

सिन्धुपाल्चोकमा यस बर्ष नवजात शिशुको मृत्युदर शुन्यमा रहेको सुखद समाचार प्राप्त भएको छ । गत आर्थिक वर्ष २०७९÷०८० नौ जना नवजात शिशुको मृत्यु भएकोमा चालु आर्थिक वर्षमा नवजात शिशु मृत्युको कुनै पनि घटना नहुनु सुखद् पक्ष रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो । उहाँले जिल्लामा सुत्केरीलाई आवश्यक पर्ने रगतका लागि ब्लड बैङ्क नहुँदा र भएका वर्थिङ सेन्टरमा पर्याप्त उपकरण
समेत अभाव हुँदा समस्या परेको बताउनुभयो । अत्याधिक रत्तस्राव हुदा र समयमा अस्पताल नपुग्दा यो वर्षमात्र चौतारा साँगाचोकगढी नगरपालिकामा दुई वटा मातृ मृत्युदरको घटना भएको उहाँले बताउनुभयो ।
जिल्ला स्तरीय प्रजनन् स्वास्थ्य समन्वय समितिको बैठकमा गर्भवती, सुत्केरीलाई निःशुल्क हवाई सेवाबारे समेत जानकारी गराइएको थियो । बागमती प्रदेश सरकारले सिन्धुपाल्चोक सहित ११ जिल्लाका स्थानीय तहलाई समेट्दै गर्भवती तथा प्रसूतिअवस्थामा ज्यान जोखिममा परेका महिलाका लागि निःशुल्क हवाई उद्धार गर्ने कार्यक्रम अन्तरगत बजेट समेत रहेको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयले सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रम मार्फत आमा र बच्चाको सुरक्षाका कार्य गर्दे आएको बजगाईंले थप्नुभयो । स्वास्थ्य संस्थामा गर्भजाँच, खोप, सुत्केरी हुनेमा उल्लेख्य वृद्धि भएको उक्त कार्यालयले जनाएको छ । सिन्धुपाल्चोकमा संचालित ५५ वटा बर्थिङ सेन्टरमा ४२ प्रतिशत महिला सुत्केरी हुन पुगेका छन् । तथापि अघिल्लो वर्षको तुलनामा जिल्लामा बर्थिङ सेन्टरमा सुत्केरी हुनेको संख्या बढेको हो ।
रक्तश्रावका कारण सुत्केरीको ज्यान जोखिममा नपरोस् भन्ने हेतुले कार्यालयले चौतारा अस्पताललाई २ थान एन्टिसप्लाईमेन्ट समेत हस्तान्तरण गरीएको हो । यसले आपतकालीन अवस्थामा अत्यधिक रक्त स्राव रोक्न सहयोग गर्छ । यो प्रविधि नेपालमै पहिलोपटक चौतारा अस्पतालमा सुरु गरीएको चौतारा अस्पताल सञ्चालक समितीका अध्यक्ष टङ्ककार्कीले बताउँनु भयो ।
उहाँले बिगतका बर्षहरु भन्दा यस बर्ष अस्पतालले धेरै प्रगती गरेको अस्पतालले पुरै समय बिरामीको सेवा र हेरचाहमा लागेको बताउँदै सबैभन्दा राम्रो पक्ष भनेकै बिरामीको रोग छिटो निको हुनु र स्तरिय सेवा दिनु हो त्यो काममा अस्पताल लागी परेको छ कार्कीले बताउँनुभयो ।