जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले हातहतियार लिएर नवीकरण नगरेकालाई ३५ दिन भित्र नवीकरण गर्न अनुरोध गरेको छ । विभिन्न व्यक्ति तथा संस्थाहरुले हातहतियार राख्नको लागि अनुमति लिने तर, नवीकरण गरेको अभिलेख नभेटिएकाले तोकिएको समयभित्र नवीकरण गर्न प्रशासनले सोमबार सूचना प्रकाशित गरेको छ । सिन्धुपाल्चोक सहायक प्रमुख जिल्ला अधिकारी जित बहादुर भण्डारीले ५ वर्षभन्दा बढी नविकरण नगरेका व्यक्तिलाई हातहतियार ईजाजतपत्रसहित बुझाउन आग्रह गरेको छ ।
गृहमन्त्रालयको निर्देशन बमोजिम जारी गरेको सुचनामा जुन जिल्लाबाट हातहतियार खरखजानाको इजाजतपत्र जारी भएको हो सोही जिल्लाबाट मात्रै इजाजतपत्र नवीकरण गर्ने र इजाजतपत्र हातहतियार सम्बन्धित व्यक्तिको साथमा नभई अन्य व्यक्तिको साथमा रहेको पाईएमा उक्त व्यक्तिको ईजाजतपत्र रद्द गरी सो हतियार समेत जफत गर्ने तथा हातहतियारको ईजाजतपत्र प्राप्त गरेको जिल्ला बाहेक अन्य जिल्लामा र सुरक्षा संवेदनशील स्थानहरुमा लैजान नमिल्ने उल्लेख गरिएको छ । सूचनाको बरखिलाप गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने चेतावनी समेत दिइएको छ ।
