पृथ्वीजंग पाण्डे/बाह्रबिसे
त्रिपुरासुन्दरी गाउँपालिकाको कागेश्वरी माध्यमिक विद्यालयमा शुक्रबार सर्वपक्षीय भेला गरिएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि गर्न अभिभावक, विद्यार्थी, जनप्रतिनिधि, शैक्षिक व्यक्तित्व लगायत शिक्षासँंग सरोकार राख्ने व्यक्तित्वहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । गाउँपालिका उपाध्यक्ष गिता कुमारी नेपालको विशेष आतिथ्यता, वडा अध्यक्ष सिताराम थापा शिक्षा समिति सदस्य मोहनकुमार श्रेष्ठको आतिथ्यता रहेको थियो।पुर्व वडा अध्यक्ष कर्णबहादुर खड्का लगायत स्थानीयहरुले महत्वपूर्ण सुझाव दिनुभएको थियो । प्रधानाध्यापक तेजबहादुर बस्नेतका अनुसार विद्यालय सुधार गर्न आफ्नो रचनात्मक सल्लाह र सुझावसहित उपस्थित आव्हान गरिएको थियो । भेलामा विद्यालयले राखेको एजेन्डाहरुमा हाम्रो विद्यालय कस्तो भए हुन्थ्यो ? आजको दिनमा हाम्रा छोराछोरी कस्ता किसिमको नागरिक बन्नुपर्छ ? विद्यालयका राम्रो पक्ष र कामहरु के के हुन् ? विद्यालयका कमजोर पक्ष के के हुन् ? विद्यालयको शिक्षा अन्य विद्यालय भन्दा फरक बनाउन के के गर्न सकिन्छ ? विद्यालयबाट परिवर्तनको सुरुवात कसरी गर्ने, विद्यालय समय १०–५ बजे बनाउँदा ठिक होला ? विद्यार्थीलाई अध्ययनको अतिरिक्त जीवनोपयोगी र व्यावहारिक शिक्षा कसरी दिन सकिन्छ ? अतिरिक्त समय र सीप सिकाउन खर्च व्यवस्थापन कसरी गर्ने ? शैक्षिकसत्र २०८१ का विद्यालयका रणनीति के ? विद्यालयमा कसरी सुशासन कायम गर्ने ? विद्यालयलाई सफल बनाउन सबैले आफ्नो तर्फबाट कम्तीमा के गर्न सक्नुहुन्छ ? जस्ता बुदाहरुमा रहि बृहत अन्तरक्रिया गरिएको थियो । प्रधानाध्यापक बस्नेतका अनुसार आगामी शैक्षिकसत्र २०८१ मा शैक्षिक एकरुपता तथा कार्ययोजना निर्माणका लागि भेला राखिएको हो ।
विद्यालय ब्यावस्थापन समितिको अध्यक्ष रमेश खत्रीको सभापतित्वमा सम्पन्न भएको थियो । आगामी शैक्षिक सत्रबाट विद्यालयमा जीवनोपयोगी सीपको आधारका लागि साइकल सिकाउने,जसको लागि बाह्रबिसे–४ ओख्रेनी घर भई हाल अमेरिका बस्ने सोहि विद्यालयको संस्थापक विर बहादुर खड्काको नातिनी इन्जु खड्काबाट एक थान साइकल तुरुन्तै दिने भनि घोषणा गरिएको छ । हाल कक्षा ६ मा अध्ययनरत छात्रा विष्णु वि.क. लाई गाउँपालिका उपाध्यक्ष गीता कुमारी नेपालले आगामी शैक्षिक सत्रमा लाग्ने सम्पूर्ण स्टेशनरी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै आगामी शैक्षिक सत्रमा विद्यार्थीहरूलाई विभिन्न परिकार बनाउन सिकाउने, व्यावहारिक लेखन र विभिन्न विषयमा आधारभुत सीप सिकाउने गरि योजना ल्याएको छ ।
