जनशक्ति अभावमा केही सयम रोकिएको शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा चौतारा अस्पताल सिन्धुपाल्चोकले पुनः सञ्चालनमा ल्याएको छ । दक्ष जनशक्ति नभएको जनाउँदै अस्पतालले सो सेवा बन्द गरेको थियो । यहि माघ २५ गते डा. रोशन चौधरीलाई अस्पतालले नियुक्त गरेसँगै सेवा शुरु गरिएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीको सक्रियता, बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय र स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको सहयोगमा अस्पतालले शल्यक्रियामार्फत सुत्केरी सेवा प्रवाह गरेको हो । सेवा शुरु गरिएसँगै जिल्लावासीलाई अन्यत्र जानुपर्ने बाध्यता हट्नुको साथै बाहिर लानुपर्दा हुने लाखौँ खर्च र ज्यानको जोखिम दुवै कम भएको छ ।
अस्पतालका विशेषज्ञ चिकित्सक डा. रोशन चौधरीले भन्नुभयो, “बच्चा उल्टो बसेको, बच्चा खेल्ने पानी सुकेको, सुत्केरी हुन तोकिएको म्याद नाघेर पनि सुत्केरी हुन नसको, बच्चाको मुटुको धड्कन कम भएको, बच्चाले दिशा खाएकोलगायत जटिल प्रकारका शल्यक्रिया पनि सफलरूपमा हुन थालेको छ ।” शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा शुरु गरेसँगै ६ जनाको सफल शल्यक्रिया भएको छ । उहाँले भन्नुभयो, “अत्यधिक रगत चाहिने अवस्था र आइसीयूमै भर्ना गर्नुपर्ने अवस्थाबाहेक अन्य सबै प्रकृतिका गर्भवतीको सेवामा हामी २४ सै घण्टा सेवा दिन सक्छौँ ।” अस्पतालबाट करारमा विशेषज्ञ डाक्टर नियुक्त गरी आकस्मिक र जटिल प्रसूति सेवा २४ सै घण्टा सेवा उपलब्ध गराइएको हो । सेवा सञ्चालनपछि जटिल अवस्थाका गर्भवतीलाई सहज पुगेको अस्पतालका एनेस्थेसिया असिस्टेन्ट सुनिलकुमार यादवले बताउनुभयो ।
प्रसूति सेवा रोकिँदा धेरै गर्भवती जिल्ला छाडेर अन्यत्र शहर जान बाध्य भएका थिए । जटिल अवस्थाका गर्भवतीलाई अस्पताल ल्याइँदा पनि सेवा छैन भनी सुत्केरी गराउन धुलिखेल, थापाथलीमा पठाउनुपर्दाको क्षण अत्यन्त पीडादायी हुने अस्पतालका मेडिकल अधिकृत डा. अमरदीप कुमार शाहले वताउनुभयो। मातृशिशु मृत्युदर घटाउने उद्देश्यले जटिल (शल्यक्रिया) प्रसूति सेवा गृहजिल्लामा उपलब्ध गराउने सेवालाई निरन्तरता दिइएको हो ।
बिरामीको उपचारका लागि अस्पतालमा सहज प्रणाली लागू गरिएको छ । ज्येष्ठ नागरिक, सुत्केरी, बालबालिका, अपांग–असहाय र जटिल रोगका बिरामीलाई सहज रुपमा सेवा दिनको लागि सामाजिक सेवा एकाईको स्थापना गरी सेवा दिने व्यवस्था मिलाइएको छ । विशेषज्ञ डाक्टरसहित १३ चिकित्सक कार्यरत रहेकाले बिरामीले सहजै उपचार सेवा पाउँछन् ।
अस्पतालवाट सामान्य जाँच सेवा, मुख तथा दन्त सेवा, आकस्मिक सेवा, बिरामी भर्ना सेवा लगाएका सेवाहरु उपलव्ध गराउदै आइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गगन अधिकारीले वताउनुभयो । उहाँले भन्नुभयो “हामी छिट्टैनै छिट्टै डायलायसिस सेवा र फिजियोथेरापी सेवा सञ्चालन ल्याइ सेवा दिने छौ ।”
सरकारले उपलब्ध गराएको ९८ प्रकारका निःशुल्क औषधि कहिल्यै कमी हुन नदिने र एक हजारभन्दा बढी प्रकारका औषधी अस्पतालको फार्मेसीमा पाइने व्यवस्था मिलाइएको अस्पताल प्रशासनको भनाइ छ । अस्पताललाई सरकारले दिने बजेट नियमितभन्दा बढी छैन । अस्पताल टिमको मिहिनेतले १५ बेडको सरकारीस्तरमा चौतारा अस्पताल देशकै पहिलो बनेको छ । सरकारी मूल्यांकनमा गत वर्ष ८९ प्रतिशत ल्याएको यो अस्पतालले यस वर्ष ९२ प्रतिशत स्कोर हासिल गरेर देशकै पहिलो बनेको हो ।
