सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका– १० लप्सेमा रहेको कृषि फर्ममा आगोलागी हुँदा करोडौ रुपैयाँ बराबरको क्षेती भएको अनुमान गरिएको छ । शनिबार राती विष्णु एग्रो फर्ममा भएको अगालागीका कारण २ सय २४ भन्दा बढी बाख्रा जलेर नष्ट भएका छन् भने फर्म पुरै ध्वस्त भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १२ विष्णुमायाँ गिरिको नाममा सञ्चालन भएको विष्णु एग्रो फर्ममा गएराती आगलागी भै करिब २ सय २४ वटा भन्दा बढि बोका बाख्रा नष्ट भएको थियो ।
यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक सन्तोष खड्कासँग सम्पर्क गर्दा गएराती करिब १ बजेको समयमा जिल्ला सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी – १० लप्से स्थित बिष्णुमाया गिरीको काठ, फलाम र जस्ताले बनेको २ तले गोठ (बिष्णु एग्रो फार्म प्रा.लि.) मा आगलागी भएको खबर प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय, साँगाचोक प्रहरी चौकीबाट सुरक्षाकर्मी सहित घटना स्थल पुगेको बताउँनु भयो ।
प्रहरीका अनुसार फर्ममा रहेको दुई सय वटा मध्ये २४ वटा घाईते अबस्थामा रहेको अन्य सबै बाख्रा जलेर मरेको र गोठ समेत पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
प्रहरीले स्थानीयको सहयोगमा आगो निभाउने प्रयास गरेको थियो । चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १० का अध्यक्ष निल बहादुर तामाङले आफुहरुकै अनुरोधमा दोलखा जिल्ला निवासी बिनोद खड्काले उक्त स्थानमा स्थानीयलाई समेत रोजगारको व्यवस्था हुनेगरि फर्म सञ्चालन गर्नुभएको र उक्त फर्म आगलागी भएको खबर सुन्दा आफुलाई दुःख लागेको बताउँनु भयो ।
यसैगरी चौतारा साँगाचोकगढी नगरपालिका प्रबक्ता समेत रहनु भएका वडा नं. १२ का वडा अध्यक्ष दिपेन्द्र नेपालले यसरी स्थानीय सरकारलाई समेत सहयोग पुग्ने गरी फर्म सञ्चालन गरीरहेको अबस्थामा बिजुली सर्ट भइ एक्कासी आगलागी हुँदा फर्ममा रहेका बाख्रा, र कुखुरा समेत नष्ट भइ फर्म जलेकामा दुख लागेको बताउँनु भयो ।
नगर उपप्रमुख सिता थापाले आगलागी राती १ः०० बजे भएको भएतापनी आफुलाई बिहान ८ बजे खबर प्राप्त भएकाले तत्काल घटनास्थलमा ९ बजे पुग्दा २०० भन्दा बढी माउ तथा पाठापाठिको आगलागीबाट विभत्स अवस्था देख्दा दुख लागेको बताउँनु भयो । उहाँले विधुत प्राधिकरणको केही समयदेखि देखिएको भोल्टेजमा देखिएको घटबढबाट विजुली सट भएर घटना भएको कृषि फर्मका सञ्चालक बिनोद खड्काले बताएको जानकारी दिनुभयो । उहाँले यो क्षति र दुःखद घटना प्रति हामी जनप्रतिनिधि, स्थानिय छिमेकी, जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको पशु प्राविधिकको उपस्थितिमा मुचुल्का बनाएर बिमा दावी गर्ने प्रकृया लगाएतको काम भएको छ ।
यो विपतको समयमा नगरपालिकाको तर्फबाट राहत र सहयोगको अपेक्षा गर्नुभएको छ । हाम्रो नियम र कार्यबिधी अनुसार त्यो कार्य हुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले यस घटना कसरी के कारणले भयो भन्ने बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।
