काभ्रेपलाञ्चोक जिल्ला स्थित अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड विस्तारको काम ढिलाई भएपछि जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतम शुक्रबारदेखि आमरण अनशन बस्नुभएको छ । उहाँले चार किलोमिटर उक्त सडकखण्ड विस्तार सम्झौताको करिव एक महिना बाँकी रहँदा एक तिहाई पनि काम नभएपछि शुक्रबार दिउँसो २ः३० बजेदेखि आमरण अनशन बस्नुभएको हो । गौतमले सडक बिस्तारको काममा भएको ढिलाइप्रति ध्यानाकर्षण गराउन पाँचखाल र धुलिखेल नगरपालिकाको सीमास्थल खावामा आमरण अनशन सुरु गरेको बताइएको छ । उहाँले जिल्लास्थित सम्पूर्ण निर्माणाधीन सडकको निर्माण छिटो गर्न माग गर्दै आमरण अनशन बसेको बताउनुभयो । “सम्पूर्ण सरोकारवालाको उपस्थितिमा सडक निर्माण सुरु गरेर सक्ने प्रतिबद्धता नजनाएसम्म आमरण अनशन बस्नेछु”, उहाँले भन्नुभयो । हाल केही हप्तादेखि उक्त सडक निर्माण ठप्प छ ।
गौतमले यसअघि सडक बिस्तारको काममा निर्माण कम्पनीले ढिलाई गरेपछि पछिल्ला केही महिनादेखि पटकपटक जिल्लास्तरमा सरोकारवालासँग छलफल कार्यक्रम गर्दै आउनुभएको थियो । उक्त सडक स्तरोन्नतिसहित बिस्तारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिबीच २२ महिना अर्थात् आउँदो चैत १९ गते सम्पन्न गर्नेगरी २०७९ जेठ २० गते सम्झौता भएको थियो ।
उक्त सडकखण्ड विस्तारका लागि व्यवसायीसँग रु २० करोड १९ लाख ४६ हजार ५०१ मा सम्झौता गरिएको थियो । सम्झौताको समयावधि नजिकिँदै गर्दा एक तिहाइसमेत काम नसकिएपछि सडक डिभिजन कार्यालयले गत माघ तेस्रो साता ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको थियो ।
कार्यालयले ठेक्का तोडेर कार्यसम्पादन जमानत वापतको रकम समेत जफत गर्ने योजना बनाएको छ । साथै बाँकी काम सम्पन्न गर्न लाग्ने लागत समेत यसै निर्माण कम्पनीबाट असुलउपर गरिने कार्यालयले जनाउँदै आएको छ । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो ।
उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्र गर्ने योजना थियो ।
