काठमाडौं
विश्व सामाजिक मञ्च २०२४ को अवसरमा काठमाडौंमा आयोजना भएको बालश्रम अन्त्य गर्ने ग्लोबल प्यानलले बालश्रम अन्त्यका लागि तत्काल काम गर्न आह्वान गरेको छ । प्यानलले विश्वव्यापी बाल श्रमले उत्पन्न भएका बहुआयामिक चुनौतीहरूलाई सम्बोधन गर्ने उद्देश्यले व्यापक छलफल गरेको थियो ।
सीएसओज फोरम अन एसटिजी ८.७ नेटवर्कले संयोजन गरेको उक्त प्यानलमा बोल्दै अधिकारकर्मी मिलन धरेलले अर्को विश्व सम्भव छ भनिरहँदा बालश्रम नभएको विश्वको परिकल्पना गरिएको बताउनुभयो । विश्वभरि अहिले करिव १६ करोडको हाराहारीमा बालबालिका श्रममा छन् । यसलाई हेर्दा जनचेतनाको कमी, गरीबी र अभाव मात्रै बालश्रमको जड कारण होइन । बालश्रम युद्ध र राजनीतिक विषयको रुपमा पनि रहेको उहाँले बताउनुभयो ।
अधिकारकर्मी मनिराम आचार्यले नेपालमा बालश्रमको अवस्थाको बारेमा चर्चा गर्दै यहाँ बालश्रम सामाजिक रुपमा स्वीकार गरिएको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयोे, समाजले नै यहाँ बालश्रमलाई स्वीकार गरेको छ । त्यसैले यसको रोकथामका लागि सोही अनुसारको निती निर्माण र त्यसको प्रभावकारी कार्यन्वयनमा जोड दिनु आवश्यक छ ।
उक्त अवसरमा आफ्नो धारणा राख्दै ट्रेड युनियनकर्मी स्मृति लामाले मर्यादित श्रममा वयस्क श्रमिकहरूको सहभागिता नहुँदा बालश्रम बढ्दो क्रममा रहेको बताउँदै बालश्रम रोक्न श्रोत मै काम गर्नु पर्ने बताउनुभयो अधिकारकर्मी रञ्जना शर्माले बालश्रम हिडन फर्ममा गइरहेको बताउँदै नेपालमा विद्यमान बालश्रमको अवस्थाको बारेमा गरिएको अध्ययन उपलब्धिका बारेमा जानकारी गराउनुभएको थियो ।
ग्लोबल प्यानलले बाल श्रमको क्षेत्रमा विद्यमान चुनौतीलाई सम्बोधन गर्न, बाल अधिकारको रक्षा गर्न र बालश्रम शोषण रोक्न प्रभावकारी र शसक्त प्रयासहरूको तत्काल आवश्यकता रहेको औँल्याएको थियो । ग्लोबल प्यानलको छलफलमा बालश्रमको अन्त्य र बालअधिकारका सबालमा उठेका प्रश्न र प्राप्त भएका सुझावका आधारमा विभिन्न ८ बुँदे माग समेत जारी गरिएको छ ।
अधिकारकर्मी मनु नेपालीका अनुसार विश्वमा कस्तो खालको श्रमको क्षेत्रमा बालबालिकाहरू श्रमिकका रुपमा संलग्न रहेका छन् र कस्तो किसिमको अभ्यास छ र बालश्रमको क्षेत्र भइरहेका पहलहरूको म्यापिङ गरेर भविष्यमा बालश्रमका क्षेत्रमा कस्ता सहकार्य गर्न सकिन्छ भनेर ग्लोबल प्यानल अन चाइल्ड लेबर कार्यक्रमको आयोजना गरिएको हो ।
अधिकारकर्मी नेपालीका अनुसार नेटवर्कले श्रम मन्त्रालयसँग समन्वय गरेर काम गरिरहेको छ । बालश्रम, बाध्यकारी श्रम र मानव बेचविखनका सबालमा श्रम मन्त्रलायले गरेका कार्यक्रमहरूको आधारमा मुलुक भित्र कस्तो उपलब्धि भएको छ भनेर ग्लोबल रिर्पोट तयार गर्ने र सरोकारवाला निकायमा पठाउने काम गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका अधिकारकर्मी, सरोकारवाला, नागरिक समाज लगायत विदेशी संघ संस्थाका गरि २ सय भन्दा बढि सहभागीहरू रहेको थियो ।
