तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’ को अवसरमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मंगलबार गाउँपालिकाद्वारा जारी सूचनामा माघ २६, २७ र २८ गते तीन दिन जुगल गाउँपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाबाट माघ १९ गते शुक्रबार निर्णय भएको उल्लेख छ ।
तामाङ समुदायले ल्होसारलाई सांस्कृतिक तथा धार्मिक पर्वको रुपमा मनाउने गर्दछ । तामाङ भाषामा ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भन्ने जनाउँछ । त्यसैले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने हुन्छ । चन्द्रमास पात्रोअनुसार माघ शुक्ल प्रतिपदाको दिनलाई ल्होसार अर्थात नयाँ वर्ष मान्ने गरिन्छ । ल्होसारमा १२ वटा जीवजन्तुको नामबाट ल्हो खोर्लो अर्थात वर्ष चक्रको आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाई र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार पर्व मनाउने गरिन्छ ।
