सम्पर्क

पूर्वप्रधानमन्त्री केपी ओलीद्वारा पाँचपोखरीको प्रशासकीय भवन उद्घाटन

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाँउपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन गर्नुभएको छ । गाउँपालिकाको वडा नं. ६ थाङ्पालधापमा निर्माण गरिएको भवनको उहाँले बुधबार उदघाटन गर्नुभएको हो ।
भवन उद्घाटन गर्नुहुदैँ पूर्व प्रधानमन्त्री ओलीले पाँचपोखरीले भवन निर्माण सम्पन्न गरेकोमा बधाई ज्ञापन गर्दै नयाँ प्रशासनिक भवनबाट काम सुरु भएपछि पालिकावासीलाई प्रदान गरिने सेवा प्रभावकारी र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पाँचपोखरीका अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गर्नुभयो । यहाँका स्थानीय उत्पादनले बजार पाए यहाँका स्थानीयको आय आर्जनमा सहयोग पुग्ने बताउनुभयो । उहाँले उत्पादनलाई बढाउन पालिका बासिलाई आग्रह गर्नुभयो । उहाँले मेलम्ची हुँदै –पाँचपोखरी भोताङ पुग्ने बाटो कालोपत्र गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने बताउनुभयो । उहाँले मेलम्ची, याङ्री लार्केको पानी लगेसँंगै यहाँको विकासमा ध्यान दिन सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री शेर बहादुर तामाङले सरकारले पाँचपोखरीको पर्यटन प्रवर्द्धनका साथै विकासमा ध्यान दिन नसकेको बताउनुभयो ।

गाउँपलिकाका अध्यक्ष टासी लामाले बहु पहिचान सहितको भवन निर्माणका लागि सहयोग गर्ने सबैमा आभार प्रकट गर्दै हिमाली यस पालिकाको विकासमा सहयोग गर्न आग्रह गर्नुभयो । ११ करोड ९४ लाख लागतमा उक्त भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । अस्थायी टहरोबाट सेवा दिइरहेको गाँउपालिकाको भवन संघिय सरकार, जिल्ला समन्वय समिति र गाउँपालिकाको स्रोतबाट निर्माण सम्पन्न भएको हो । भवन बनाउनको लागि स्थानीयले ४५ रोपनी जग्गा दान गरेका थिए । उद्घाटन कार्यक्रमको अवसरमा उनिहरुलाई सम्मान समेत गरिएको थियो ।
२०७५ सालबाट निर्माण थालिएको उक्त भवनहरू हल, प्रशासनिक भवन, क्याटरिङ, पुस्ताकालय र संग्रालय गरि ५ वटा भवनमा ३५ वटा कोठाहरू रहेका छन् ।