स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बाह्रबिसे नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क पढाउने व्यवस्था गरेर देश भरिमै शिक्षाका क्षेत्रमा उत्कृष्ठ काम गरेको बताउनुभएको छ । बाह्रबिसे नगरपालिकाको १४औं नगरसभालाई आईतबार बाह्रबिसेमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्ने अभियानमा आफु लागेको दावी गर्दै आफ्नो अभियानलाई बाह्रबिसे नगरपालिकाले कार्यन्वयन गरेर शिक्षाको क्षेत्रमा गतिलो काम गरेको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘ देशभरिका सरकारी विद्यालयमा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्छ भन्ने अभियानमा म लागेको छु । सिन्धुपाल्चोकका बाह्रबिसेसँगै भोटेकोशी गाउपलिका र त्रिपुरासुन्दरी गाउँपाकिलाले पनि कक्षा १२ सम्म निःशुल्क पढाउने अभियान सुरु गरेपछि यसको सकारात्मक सन्देश देश भरि फैलिएको छ । सरकारले अव छिट्टै कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्छ ।’
शिक्षा र स्वास्थ्यलाई हरेक स्थानिय सरकारले आफ्नो पहिलो प्राथमिकतामा राख्नु पर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो । विकास गर्ने नेता र गफमात्र दिएर झुक्क्याउने नेतालाई जनताले चिन्नु पर्ने बताउदै बस्नेतले जिल्लाको विकास नगर्ने, जनताका सुखदुखमा साथ नदिने, विरामी पर्दा उपचार गर्न पहल नगर्ने जनप्रतिनिधिको अस्तित्व नरहने मन्त्री बस्नेतले ठोकुवा गर्नुभयो । विकास नगर्ने र जनताको सुख दुखमा साथ नदिने नेतालाई मतदानका बेला मतदान नगरेर देखाइदिनु पर्ने मन्त्री बस्नेतको भनाई थियो । बस्नेतले भन्न्ुभयो, ‘जसरी थारो भैसीलाई हरियो घास खुवाइराख्नु हुदैन, त्यसैगरि विकास नगर्ने नेतालाई जिताई राख्नु हुदैन ।’ दशर्कौसम्म निःशुल्क ट्युसन पठाएर होस कि स्कुल स्थापना गरेर आफु विगत लामो समयदेखि शिक्षाको विकासमा लागि परेको बताउँदै मन्त्री बस्नेतले सिन्धुपाल्चोक जिल्लालाई देशकै पहिलो साक्षर जिल्ला घोषणा गरेर देखाएको स्मरण गर्नुभयो । बाह्रबिसे नगरपालिका अन्तरगतका विभिन्न सडकहरु अधुरा रहेकाले तिनलाई पुरा गर्न आफु्ले पूर्ण सहयोग गर्ने मन्त्री बस्नेतले बताउनुभयो । आफुले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्यका क्षेत्रमा आमुल परिवर्तन गर्न लागेको जानकारी दिदै मन्त्री बस्नेतले पैसाको अभावमा कुनै पनि नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन भन्ने उदघोषका साथ आफु लागिपरेको दावी गर्नुभयो । बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा स्तरोन्नति गरिसकेको बताउदै स्वास्थ्य मन्त्री बस्नेतले त्यसका लागि चाहिने जनशक्ति, प्रयोगशाला र उपकरणको व्यवस्था गर्ने आश्वासन दिए । कार्यक्रममा बाह्रबिसे नगरपालिकाका उपमेयर मञ्जु तामाङले सिमित साधन र श्रोतले जनताको चाहना अनुसार नगरपालिकाले विकासका काम अगाडि बढाइरहेको बताउनुभयो । नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बाह्रबिसेमा शिक्षा, स्वास्थ्यसँगै सडक संरचना बलियो बनाउन आवश्यक भएकाले ठूला योजना सम्पन्न गर्न सरकारले सहयोग गर्न पर्नेमा जोड दिनुभयो । जनताका हरेक सुखदुखमा स्थानिय सरकार साथमा साथ दिएर अगाडि बढेको मेयर बस्नेतले दावी गर्नुभयो ।
नगरसभामा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिकाका सदस्यहरु, कर्मचारी सहित स्थानियवासीको सहभागिता थियो । ‘हामी सबैको चाहना, सुन्दर, शान्त र सफा नगरको परिकल्पना ’ भन्ने मूल नाराका साथ नगरसभा भएको थियो ।
