२६ पुस, सिन्धुपाल्चोक । जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य माधव सापकोटा सुवोधले विद्यालयको कक्षा कोठमै पुगेर विद्यार्थीसँग विधायिकी कार्यबारे छलफल गर्नु भएको छ ।
संसदको बर्षे अधिवेशन सकिएर हिउँदे अधिवेशन सुरु नभएको समयमा ’जनतासङ्ग सांसद’ र ’विधायकसँग विद्यार्थी’ कार्यक्रम लिएर निर्वाचन क्षेत्रमा रहनु भएका सापकोटाले बिहीबार जालपादेवी माध्यमिक विद्यालयका विद्यार्थीसँग कक्षा कोठामै गएर छलफल गर्नु भएको हो ।बलेफी गाउँपालिका वडा नं ४, बिन्जेलस्थित जालपादेवी माध्यमिक बिद्यालयका कक्षा ९ देखि १२ सम्मका ७५ जना विद्यार्थी सहभागी कक्षामा उहाँले जनताको प्रतिनिधिका रुपमा निर्वाचित भएर जाने विधायकले संसदमा खेल्ने भूमिकामा बारेमा चर्चा गर्नु भयो । विधायकका लागि तोकिएको काम, कर्तव्य र अधिकार हुने जानकारी गराउँदै सापकोटाले कानुन निर्माणमा सबैभन्दा ठूलो भूमिका हुने बताउँनु भयो । सांसद सापकोटाले नेपालमा वि.सं.२००७ सालपछिका उपलब्धिहरुका विषयमा संक्षिप्त चर्चा समेत गर्नु भएको थियो ।
कक्षा कोठमा आएका विधायकलाई विद्यार्थीहरुले एउटा सांसदले निर्वाचन क्षेत्रदेखि संससदसम्म खेल्ने भूमिकाका विषयमा जिज्ञासा राखेका थिए ।राष्ट्रिय जीवनका विशिष्ट व्यक्तित्वहरुलाई ल्याएर विद्यार्थीसँग छलफल गराउने विद्यालयको कार्यक्रम अन्तरगत सांसद सापकोटालाई विद्यालयमा निमन्त्रणा दिइएको व्यवस्थापन समितिका अध्यक्ष नारायण पराजुलीले जानकारी दिनु भयो । सांसद सापकोटाले विद्यालय व्यबस्थापन समिति र शिक्षकहरुसँग विद्यालयको शैक्षिक र भौतिक विकासका सम्बन्धमा अलग्गै अन्तरक्रिया गरेका थिए। उहाँले विद्यालयको सिकाईलाई प्रविधिमैत्री र स्मार्ट बनाउन आवश्यक रहेकोमा जोड दिंदै शैक्षिक सामाग्री तथा विद्यालय बस सुरु गर्न सम्बद्ध निकायमा आवश्यक पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको अध्उक्ष पराजुलीले जानकारी दिनु भयो ।
