काठमाडौं ।
अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् ।
केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा.डा. अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका अपेक्षा कस्ता छन् भन्ने सवालमा छलफल गरेका हुन् । छलफलमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरबको रुपमा रहेको बताउँदै कलेजले प्रदान गर्ने स्वास्थ्य सेवाहरुलाई समयानुकूल सुधार गर्न सल्लाह दिनुभयो ।
नगरपालिका नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकोले कलेजसँग सहकार्य गरेर अगाडी बढ्ने बताउँदै उनले विशिष्टीकृत स्वास्थ्य सेवाहरु थप गर्ने, नगरबासीको लागि नयाँ योजनाहरु ल्याउन आग्रह गर्नुभयो । साथै उहाँले नगरपालिका मेडिकल कलेजलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जस्तोसुकै सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाउनुभयो ।
भेटमा बोल्दै उपप्रमुख सान्नानी लामाले कलेजले स्वास्थ्य सेवालाई अहिलेको भन्दा प्रभावकारी बनाउँदै नयाँ नयाँ स्वास्थ्य उपकरण र सेवाहरु थप गर्न अनुरोध गर्नुभयो । कलेज शान्तिपूर्ण र भयरहित वातावरणमा चलाउन कलेजलाई आवश्यक सल्लाह दिँदै नगरपालिकाले सदैब सहकार्य गर्ने बताउँदै उपप्रमुख लामाले नेपाल मेडिकल कलेज नगरको गौरबकै रुपमा रहेको चर्चा गर्नुभयो ।
छलफलमा कलेजका डाइरेक्टर डा. साविहा यासमिन, बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी, अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठसमेत उपस्थित रहनुभएको थियो ।
