सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका – २ किउलमा रहेको भुमेश्वरी माध्यमिक विद्यालयको बार्षिकोत्सव, आजीवन सदस्य भेला तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ । मंगलबार विद्यालयले विभिन्न कार्यक्रम गरि ४९औँ बार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने कुरामा आफु सधैं सकारात्मक रहेको बताउनुभयो । अध्यक्ष शेर्पाले प्राबिधिक शिक्षालाई गाउँपालिकाले प्राथमिकता राखेको बताउँदै राज्यलाई आवश्यक पर्ने जनशक्ति हेलम्बु गाउँपालिकाले उत्पादन गर्नेगरि अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
शेर्पाले पढ्ने कुरामा विद्यार्थीलाई कुनैपनि समस्या सिर्जना हुननहुने बताउनुभयो । उहाँले एस इ इ को तयारी गरिरहेका विद्यार्थीहरुबाट कुनैपनि शुल्क नलिन आग्रह गर्नुभयो । उहाँले शैक्षिक हिसाबले कुन स्कुल कुन स्थानमा छ भनेर गाउँपालिकाले मुल्यांकन गरिरहेको भन्दै आवश्यक सहजीकरणको लागी गाउँपालिका सधैं तयार रहेको स्पष्ट पार्नुभयो । कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष पेम्बा लामा,गाउँपालिकाका शिक्षा शाखा प्रमुख धनध्वज लामा,मेलम्ची भ्याली क्याम्पस प्रमुख राजन लामिछाने, छिमेकी विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
विद्यालयका प्रधानाध्यापक यमबहादुर जोतीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा पुर्व शिक्षक हरुलाई सम्मान गरिएको थियो भने विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो । बार्षिक उत्सवका अवसरमा विभिन्न विधामा उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरुलाई समेत सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक जोतीले जानकारी दिनुभयो ।कार्यक्रम विद्यालय व्यवस्थापन समिती अध्यक्ष मोदनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
