सम्पर्क

काठमाडौंको ह्याम्स अस्पतालद्वारा खाडीचौरमा एक दिने निःशुल्क ओपीडी सेवा सम्पन्न

काठमाडौंको ह्याम्स अस्पतालले सिन्धुपाल्चोकको खाडीचौरमा एक दिने निःशुल्क ओपीडी सेवा सम्पन्न गरेको छ । खाडीचौरमा रहेको सिन्धु सदाबहार अस्पताल प्रालिसँगको सहकार्यमा बुधबार ह्याम्सले ओपीडी सेवा सम्पन्न गरेको हो । शिविरमा जनरल फिजिसियन, बाल तथा शिशु रोग, हाडजोर्नी सम्बन्धी, स्त्री रोग सम्बन्धी ओपीडी सेवा निशुल्क प्रदान गरिएको थियो । उक्त शिविरमा ह्याम्स अस्पतालका जनरल फिजिसियन डा. गुञ्जन खड्का, डा. रोहेन्द्र पाण्डे, हाडजोर्नी विशेषज्ञ डा. सुरेश बहादुर थापा, स्त्री रोग विशेषज्ञ डा. करिश्मा पाण्डेको टोलीले निशुल्क ओपीडी सेवा प्रदान गरेको थियो । शिविरमा विशेषज्ञ डा. सुरेश बहादुर थापा र एनेस्थेसियोलोजिस्ट डा. सुरज लामिछानेको नेतृत्वमा हाडजोर्नी सम्बन्धी शल्यक्रिया समेत गरिएको छ ।

बिहान ११ बजे बाट सञ्चालन भएको सो शिविरमा १५० भन्दा बढी बिरामीले स्वास्थ्य लाभ लिएको ह्याम्सले जनाएको छ । साथै इमर्जेन्सीमा रहेका केही बिरामीले पनि निशुल्क स्वास्थ्य परामर्श पाएका छन् । काठमाडौंका वरिष्ठ चिकित्सकहरूद्वारा सेवा प्राप्त गरेकोमा शिविरमा आउने बिरामीले खुशी ब्यक्त गरेका थिए । ह्याम्स अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य सेवा विभिन्न स्थानमा सञ्चालन गर्दै आइरहेको छ । खाडीचौरमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत नै शिविर आयोजना गरिएको अस्पतालका अध्यक्ष आर.एस. भण्डारीले जानकारी दिनुभयो ।