सेलाङ
बागमती प्रदेश सभा सदस्य सांसद अमृता नेपालले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभएको छ । बिहिबार सिन्धुपाल्चोकको जुगलमा – १ सेलाङमा सुरु भएको पाचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सांसद् नेपालले सामाजिक बिकासको महत्वपूर्ण क्षेत्र खेलक्षेत्र भएकोले खेलको बिकास र प्रवद्र्घनको लागि सवैले ध्यान दिन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले खेलको माध्यमबाट राष्ट्रको गौरब बढ्ने र स्वास्थ्यको लागि अति नै उत्तम भएकोले खेलकुद गतिबिधिमा बिद्यालयले उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । वर्तमान समाजमा नकारात्मक सोच र चिन्तन बढ्दै गएकोले खेलकुदले अनुशासित र मर्यादित बनाउने भएकोले यसको श्रीबृतिको लागि आफुले प्रदेश सरकारमा नीतीगत र कार्यक्रमिक रुपमा खेलकुद परिषद्मार्फत कार्यन्वयन गर्न आफुले आवश्यक सहजीकरण गर्ने बताउनुभयो ।
प्रतियोगिता उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुभएका गाउँपालिका उपाध्यक्ष हिमालकुमार श्रेष्ठले गाउँपालिका सदैव आम खेलकुदलाई बिकास गर्न लागि पर्ने बचनबद्धता जनाउनुभयो ।
कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर बि.कले स्थानीय शासन सञ्चालन ऐन २०७४ को आधारमा गाउँपालिकाले आवश्यक नीति र कार्यक्रम बनाई खेलकुदमार्फत गाउँपालिकाको चिनारी दिन सक्ने प्रतिभाको बिकासमा लागिपर्ने बताउनुभयो । प्रतियोगिता उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरु, बिद्यालयको प्रअहरु, स्थानीय समाजसेवीहरुको आतिथ्यता र बिद्यार्थी , अभिभावक स्थानीयहरुको सहभागिता रहेको थियो ।
जुगल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको ९ वटा बिद्यालयको सहभागितामा भएको २ दिन चल्ने प्रतियोगितामा कराँते, भलिबल, हाईजम्प, लङजम्प, दौड, ज्यबलिङ थ्रो, सर्टफुट लगायत खेलहरुको प्रतियोगिता हुने शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिनुभयो ।
