चौतारा साँगाचोकगढी नगरपालिकाले कानुनी साक्षरता तथा लैङ्गिक हिंसा न्युनिकरणको लागि पुरुष सहभागिता विषयक अभिमुखिकरण कार्यक्रम वडा स्तरमा सञ्चालन गरिरहेको छ । मंगलबार चौतारा साँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रम वडा अध्यक्ष युवलाल श्रेष्ठको अध्यक्षतामा नगरपालिकाको वडा नं. १ मा भेडाबारीमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा नगर उपप्रमुख थापाले अहिलेको व्यबस्थालाई स्थापित गर्नको लागि न्यायिक समितिको सन्दर्भमा सवै जानकारी दिन आएको धारणा ब्यक्त गर्नुभयो । उहाँले न्यायिक कार्यलाई जनस्तरमा पुर्याउदै विश्वास आर्जन गर्न चुनौती र अवसर दुवै रहेको समेत बताउनुभयो । स्थानिय स्तरमा न्यायिक समितिको ब्यवस्थाले समाजमा भएका साना मसिना तर दीर्घकालीन असर गर्न सक्ने खालका विवादलाई न्यायिक समिती सम्म पुग्न र त्यो बातावरण बनाउन मेलमिलापकर्ताको अवधारणा आएको समेत थापाको भनाई थियो । उपप्रमुख थापाले बिगो भन्दा ईगो ठूलो हुनाले साना विवादले पनि ठूलो रुप लिने यसले समाजलाई क्षती पुर्याउने भन्दै यसलाई बेलैमा न्यायिक समिती मार्फत निरुपण गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य सानुमाया गुरुङ्ग, खेल कुमारी कार्की, न्यायिक समिती सदस्य रामशरण अधिकारी, रवि खत्री, न्यायिक सहजकर्ता करिष्मा सापकोटा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा करिब एक सय २५ जना स्थानीयको सहभागितामा रहेको थियो ।
कानुनी साक्षरता कार्यक्रमबाट सहभागिले कानुन, नियम, मेलमिलाप र विवाद निरुपणको बारेमा धेरै बुझ्न पाएको भन्दै खुशी ब्यक्त गरेका छन् । अधिकाँश सहभागिले आफुले न्यायिक समितीबारे पहिले पटक छलफलमा सहभागी भएको भन्दै यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने समेत आशा राखेका छन् ।
यसअघि वडा नं. २ र ३ मा पनि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको नगरपालिका न्यायिक शाखा प्रमुख दुर्गा प्रसाद ढुङेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी मंसिर २९ गते वडा नंं. १२ साँगाचोकमा आयोजना गरिएको छ । संघीयताको व्यवस्था पश्चात स्थानिय तहमा भएको न्यायिक समितिको अवधारणा नयाँ भएकोले गाउँ स्तरमा यस्ता कार्यक्रमको महत्व र आवश्यकता देखिएको न्यायिक शाखा प्रमुख ढुङेलले बताउनुभयो । न्यायिक समितीको काम कर्तव्य र अधिकारको प्रयोगको लागि न्यायिक अवधारणाबारे टोल र वडामा सुशुचित गराउनु आवश्यक देखिएको समेत बताउनुभयो ।
