सम्पर्क

प्रभावकारी बन्दै आयुर्वेदिक उपचार पद्धती

सिन्धुपाल्चोकमा आयुर्वेद उपचार सेवा प्रभावकारी बन्दै गएको पाइएको छ । जिल्लामा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रमार्फत एक वर्षको अवधिमा २८ हजार नौ सय ४४ नागरिकले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
केन्द्रमा उपचार सेवाका प्रकार बढ्दा सेवा लिनेको संख्या विगत वर्षहरुमा भन्दा करिब दोब्बरले बढेको चालु वर्षका वार्षिक कार्यक्रम तथा योजना र गत आव भएका कार्यको प्रगति समीक्षा कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. अञ्जु कार्कीले जानकारी दिनुभयो । डा.कार्कीका अनुसार निःशुल्क औषधि तथा अन्य सेवा प्रदान गर्ने तथा आयुर्वेदको सेवामा सःशुल्क औषधि आवश्यक हुने बिरामीका लागि पाँच प्रतिशत छुटमा औषधि बिक्री गर्न सुरु गरिएको छ । यसले नागरिकलाई सरकारले तोकेका निःशुल्क बाहेकका अन्य अत्यावश्यक औषधि सेवनका लागि सहज भएको छ ।
आव २०७९÷८० मा २१ हजार तिन सय २६ जनाले बहिरङ्ग सेवा लिएका हुन् । यस्तै छ सय २५ स्तनपायी आमालाई दूधवद्र्धक खानेकुरा , दुई हजार तिन सय ७२ ज्येष्ठ नागरिकलाई सेवा, स्वस्थ्य शिविरमा दुई सय ५० जना विरामीले सेवा सेवा लिएका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चौताराले सोमबार आयोजना गरेको स्थानीयस्तरका पत्रकारसँग आयुर्वेद सेवाको प्रवद्र्धनसम्बन्धी अन्तक्रिया कार्यक्रममा आयुर्वेद उपचारमार्फत् पनि रोग निको हुने भएकाले यसको प्रचारप्रसार गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख कृष्णप्रसाद सापकोटाले रोग लाग्नै नदिने र रोग लागि हालेमा आयुर्वेदको सही प्रयोग गर्न सहज वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले ‘प्रतिअसर नहुने, प्राचिन उपचार पद्धति’ बारे जनचेतना जगाउन आवश्यक रहेको समेत बताउनुभयो ।
जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रसहित छ आयुर्वेदिक औषधालय र पाँच आरोग्य सेवा केन्द्र रहेको केन्द्रका प्रमुख डा. कार्कीले जानकारी दिनुभयो । १२ वटा स्थानीय तह रहेको जिल्लाका जुगल, हेलम्बु, इन्द्रावती र भोटेकोशी गाउँपालिकामा भने आयुर्वेदिक औषधालय स्थापना हुन सकेको छैन ।
यस्तै आयुर्वेद उपचार पद्धतीबाट मंगलबार (आज) देखी मुख्यमन्त्रि जनता स्वास्थ्य कार्यक्रम सुरु हुने भएको छ । उक्त कार्यक्रम मार्फत ३० वर्षदेखि माथिका उमेर समुहका महिला तथा पुरुषले स्वास्थ्य परिक्षण गर्न सकिने प्रमुख डा. कार्कीले जानकारी दिनुभयो । मंगलबारदेखि सुरु हुने यो कार्यक्रम हरेक मंगलबार विहान ८ बजेदेखि स्वास्थ्य केन्द्रमा सञ्चालन हुने छ ।