११ मंसिर, चौतारा । जिल्लाबाट संघीय संसद र बागमती प्रदेश सभामा निर्वाचित चार जनप्रतिनिधिले एक बर्षको उपलब्धि सार्वजनिक गर्नु भएको छ ।
गत बर्ष मंसिर ४ गतेको निर्वाचनमा जिल्लाको क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद माधव सापकोटा सुबोध, बागमती प्रदेश सभामा निर्वाचित युवराज दुलाल सरद, सरल सहयात्री पौडेल र समानुपातीकतर्फ निर्वाचित आमृता नेपालले चौतारामा पत्रकार सम्मेलन गरी एक बर्षे उपलब्धि एवं कार्यप्रगति सार्वजनिक गर्नु भएको हो। 
संघीय सांसद सापकोटाले जिल्ला निर्वाचन कार्यालयबाट प्रमाणपत्र बुझेको दिन पारेर कार्यक्रम आयोजना गरिएको जानकारी दिँदै निर्वाचित गराउने मतदातालाई बिशेष आभार प्रकट गर्नु भयो । निर्वाचनका बेला जारी गरिएको प्रतिवद्धता अनुसार प्रगति विवरण सार्वजनिक गरिएको बताउँदै उहाँले संघीय संसदका ९३ बैठक मध्ये ८१ बैठकमा उपस्थित भएको जुन ८७ प्रतिशत उपसिथति रहेको जानकारी दिनु भयो । पूर्वाधार विकास समितिको सदस्यका रुपमा सक्रिय सहभागि रहेको स्मरण गर्दै विधेयकहरुमा संसोधन गरिएको जानकारी दिनु भयो ।
निर्वाचन क्षेत्रका विषयमा २०७२ को भूकम्पपछि बन्द जस्तै रहेको प्रमुख व्यापारिक तातोपानी नाका पूर्ववत सुचारु गर्ने विषय, जुरे पहिरो प्रभावितको रकम निकासा गरी नगदै वितरणको विषय, ओरेन्ट म्याग्नेसाइटको पुनः सञ्चालन वा अन्य व्यवस्थापनको विषय, सिमा नाका सम्म पुग्ने तातोपानी क्षेत्रको सडक स्तरोन्नतिको विषय, बाँदर, बँदेल, दुम्सी लगायतका जंगली जनावरबाट बालीनाली जोगाउने उपायबारे संसदमा सरकारको ध्यानाकर्षण गराएको, काठमाडौं पूर्वका १३ जिल्लाका लागि काठमाडौंको जडिबुटीबाटै बसपार्क व्यवस्थाका लागि ध्यानाकर्षण गराएको, विपद पूर्वतयारी एवं विपद व्यवस्थापनका विषय सदनमा उठाएको उनले जानकारी गराउँनु भयो ।
राष्ट्रिय मुद्धाका रुपमा संसदमा चीनसँगको तातोपानी नाका पूर्ववत सुचारु गर्ने, लिपिङ क्षेत्रको बजारीकरणबारे सरकारको ध्यानाकर्षण गराएको, नेपालका युवाहरुले भोग्नु परेको पीडा, बेरोजगारी, युवाहरु रोजगारीका लागि विदेशीनु पर्ने बाध्यता, नेपाल वृद्धाहरुको देश बन्ने खतरा रहेको तथ्यांक सहित संसदमा युवाहरुको विषयको उठान गरेको, नियमावलीमा ढ्यापढ्यापेको समयको सट्टा आकस्मिक समयका लागि नियमावली संसोधन गर्न पहल गरेको र नियमावलीमा सोही अनुसारको व्यवस्था सहित शंसोधन भएको बताउँनु भयो ।
आधुनिक प्रविधि र एपमार्फत संसद संचालन गर्न ध्यानाकर्षण एवं एक महिनाको तलब सहयोग गर्ने प्रतिवद्धता वेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समयमै पारित गर्न विशेष ध्यानाकर्षण, संक्रमणकालीन विषयमा नेपालबाट सन्देश दिन सकिने विषय प्रस्तुत गरेको, सबैखाले विपदको पूर्व तयारीका सम्बन्धमा ध्यानाकर्षण गराएको, भुटानी शरणार्थीको मुद्धालाई स्वार्थमा जोडेर राजनीति नगर्न आग्रह गरिएको देशका संबैधानिक अंग र निकायहरु रिटायर्ड क्लबहरुजस्ता भएको विषयमा गम्भीर बन्न राज्यको ध्यानाकर्षण गराएको सापकोटाले पत्रकार भेटघाटमा जानकारी गराउँनु भयो ।
जुगल गाउँपालिकाको रत्नराज्यमाविलाई केन्द्रीय विद्यालय बनाउन पहल गरिएको, रुगण उद्योगका रुपमा रहेको ओरेयन्ट म्याग्नेसाइटबारे विभिन्न विकल्पमा छलफल भइरहेको सापकोटाले जानकारी दिनुभयो । निर्वाचति भएको १५ दिन मै गुम्बा गाउँमा बत्ति बाल्न पहल लिएको स्मरण गर्दै सांसद सापकोटाले ७ महिना भित्रमा तेम्बाथानमा बत्ति बल्ने अबस्था रहेको बताउँनुभयो । गुम्बाको नेसम खोलामम्म मोटरबाटो पुगेको र अर्को बर्षबाट तेम्बाथानसम्म मोटर चढेर जान सकिने गरी काम भइरहेको उहाँको भनाई रहेको थियो ।
उहाँले जुगल गाउँपालिकामा सम्भाव्यताको आधारमा जडिबुटी प्रशोधन केन्द्रको स्थापनाको काम अगाडि बढाइएको जुगल हिमश्रृङखला अन्तर्गतका थप हिमालका चुचुराहरु आरोणका लागि खुला गर्न नेतृत्वदायी भूमिका खेलेको र सुकुटेलाई पर्यटकीय विकासका लागि चौतारासाँगाचोकगढी नगरपालिकासँगको समन्वयमा कार्य अघि बढेको जानकारी दिनु भयो । उहाँले सांसदका रुपमा विभिन्न अमेरिका, भारत र बंगलादेशमा भएका भ्रमण एवं नेपाली प्रतिनिधि मण्डलको तर्फबाट सम्बोधन गरेको विषयमा समेत सो अबशरमा जानकारी दिनु भयो । उँहाले आफू निर्वाचन क्षेत्रका ५४ वटै वडाहरुमा कुनै न कुनै कार्यक्रम लिएर पुगेको उनले जानकारी दिदै जनतासँग सांसद कार्यक्रमको बाह्रविसेको घोरथलीबाट सुरु गरिएको उनले कार्यक्रममा बताउँनु भयो ।
एक बर्षको उपलब्धी सार्वजनिक गर्दै बागमती प्रदेस भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनु भएका जनप्रतिनिधि दुलालले जनसेवाको काम गर्ने, जनताको दुख सुखमा जनप्रतिनिधि, सरकारबाट नीति निर्माणको काममा ध्यान दिइएको बताउँनु भयो । उँहाले ठूला योजना दिनेश राम्जी बहुप्राविधिक शिक्षालयको भवन निर्माण सम्पन्न, चौतारा टुंडिखेलमा निर्माणाधिन रंगशालाको रोकिएको का सुचारु, चौतारा मेलम्ची सडकको स्तरोन्नति र कालोपत्रको काम अघि बढेको जानकारी दिनु भयो । उँहाले निर्वाचन क्षेत्रका मुख्य योजना, मझौला योजनाहरुमा बजेट विनियोजन भई काम भइरहेको जानकारी दिनु भयो । निर्वाचन क्षेत्रका २४ वटै वटा समेटिने गरी पूर्वाधार विकास, विद्यालय बस जस्ता कार्य अघि बढाइएको ,प्रदेशको बजेट कटौतिका बाबजुट प्रेदशका कार्यक्रमहरु एकिकृत ढंगले अघि बढाउन लागिएको जानकारी दिनु भयो । प्रदेश सभाले नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपामा पारित गरिएको विषय समेत यस अवधिको उपलब्धि रहेको दुलालले जानकारी दिनु भयो । उँहाले १५ बेडको चौतारा अस्पताललाई ५० बेडको बनाउने लगायतका महत्वपूर्ण कार्य भएको, बागमती प्रदेशमा विद्युतीय ट्याक्सि सञ्चालनको अनुमति प्रदान गरिएको काम भएको समेत जानकारी दिनु भयो ।
सांसद सरल सहयात्रीले चुनावमा आफूलाई जिताउने मतदाता, उमेदवार बनाउने पार्टीलाई धन्यवाद ज्ञापन गर्दै सहिद, घाइेत, अपांगता भएका र बेपत्ता योद्धाहरुलाई स्मरण गर्दै काम गरिरहेको बताउँनु भयो । बागमती प्रेदश सभामा विपद व्यवस्थाको विषयमा विशेष समय लिएर सम्बोधन गरेको, रासायनिक मल अभावका कारण किसानले भोग्नु परेको समस्यामा ध्यानाकर्षण गराएकोमा दुबै विषयको समबोधन भएको बताउँदै उँहाले मुख्यमन्त्रीको उपस्थितिमा सिन्धुपाल्चोकमा विपद व्यवस्थापन सम्बन्धी कार्यक्रम गरिएको र एक प्रदेश निर्वाचन क्षेत्र एक प्रांगारिक मल उत्पादन केन्द्रका लागि बजेट व्यवस्थापन गरिएको जानकारी दिनु भयो । माओवादीले भ्रष्टाचार गर्नु भनेको सहिदको मासु लुछेर खानु सरह भएको विषय संसदमा सम्बोधन गरेको बताउँदै सांसद सहयात्रीले चुनावी अभियानका बिचमा गरिएका प्रतिवद्धता पूरा गर्न लागिपरेको स्पष्ट पार्नु भयो । पत्रकार सम्मेलनमा उहाँले आगामी बर्षहरुमा बाँकी प्रतिवद्धता पुरा गरिने बाचा समेत गर्नु भयो ।
कार्यक्रममा सांसद अमृता नेपालले बागमती प्रदेश सभामा, सम्बन्धीत समितिमा र निर्वाचन क्षेत्रमा खेलेको भूमिकाको चर्चा गर्नु । उहाँले गृहिणी महिलाहरुको श्रमको सम्मान, श्रमको मूल्य निर्धारण आयआर्जन र सीपसंग जोड्नुपर्ने विषय उठाएको स्मरण गर्दै सो विषय कार्यान्वयन गर्न गृहिणी महिलासँग प्रदेश सरकार कार्यक्रम पारित भइ कार्यन्वयनको चरणमा रहेको जानकारी दिनु भयो । उहाँले संसदमा युवाका विषयलाई जोड दिइएको र काम गरिखाने बर्गका विषयमा आवाज उठाइरहने जानकारी दिनु भयो ।
चारै जना जनप्रतिनिधिले यो अवधिमा पार्टी संबद्ध कार्यहरुमा सहभागी भएको विषयमा पनि जानकारी गराउँनु भएको थियो। कर्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष दिनेश थापाले १ बर्षमा गरेका कार्यक्रमहरुका बारेमा समग्र उपलब्धी मुलक भएको भएता पनी जनता सँग प्रत्यक्ष सरोकार राख्ने खालका कार्यक्रममा अझ अगाडी बढ्न पर्ने सुझाव दिनु भयो । उँहाले सिन्धुपाल्चोकका सबै माननीयहरु एकै ठाउँमा बसेर बिकासका काममा लाग्न र आफुहरुले गरेका प्रतिबद्धताहरु कती पुरा भए भन्ने बारेमा छलफल गर्न पर्ने बताउँनु भयो ।
प्रेस सेन्टर नेपाल सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार भेटघाटमा नगरपालिकासंघ नेपालका उपाध्यक्ष समेत रहनु भएका चौतारा साँगाचोगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटा, बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो, लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामा, पत्रकार महासंघ सिन्धुपाल्चोकका उपाध्यक्ष दिनेश थापा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य श्रीधर न्यौपाने, रामकृष्ण थापा, विदुर गिरी, जिल्ला अध्यक्ष सुन्दर शिरीश, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
