बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयको सहयोगमा
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ स्थित टारमा रहेको इन्द्रेश्वरी माध्यमिक विद्यालयले स्कुल बस प्राप्त गरेको छ । आईतबार बागमती प्रदेशका भौतिक विकास तथा पुर्वाधार मन्त्री युवराज दुलाल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायतले सोही स्कुल बसको उद्घाटन गर्नुभएको हो ।
विद्यालय बस हस्तान्तरण गर्दै मन्त्री दुलालले सामुदायिक विद्यालयलाई गुणस्तरीय केन्द्र बनाउनपर्छ भन्ने उद्देश्यका साथ बिद्यालयलाइ सुविधा सम्पन्न बनाउनका लागी विद्यालय बस कार्यक्रम आफु सामाजिक विकास मन्त्री हुँदा संचालन गरेको जानकारी दिनुभयो । मन्त्री दुलालले मेलम्ची नगरपालिकाको तेर्से माध्यमिक विद्यालय र कुविन्डेको सेती देविलाई बस हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको स्मरण गर्दै त्यसपछि थाङ्पाल भ्याली पाँचपोखरी, लागर्चे, चौतारा र मेलम्चीलाई बस उपलब्ध गराएको बताउनुभयो । बागमती प्रदेशका ३० वटा विद्यालय नमुना बनाउने कार्यक्रम अनुसार इन्द्रेश्वरी पनि परेकाले यस विद्यालयलाई गुणस्तरीय शैक्षिक केन्द्रको रुपमा अगाडि बढाएको बताउनुभयो ।
मन्त्री दुलालले भौतिक पुर्वाधार, शैक्षिक पुर्वाधार, स्वास्थ्यका पुर्वाधार लगायत हरेक क्षेत्रको विकास गर्नका लागी योजनाबद्ध हिसाबले अगाडि बढेको भन्दै यसको लागी स्थानीय तह र केन्द्र सरकारसँंग निरन्तर सहकार्य भइरहने बताउनुभयो ।
उहाँले आफु सरकारमा हुँदा या नहुदा निरन्तर यस भेगको विकासमा सक्रिय रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो । कार्यक्रम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बाह्रै महिना बस संचालनका लागी नगरले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । बस संचालनका लागी थुप्रै चुनौतीहरु रहेको स्मरण गर्दै प्रमुख तामाङले प्रदेश सरकारसँंग सहयोगको लागी आह्वान गर्नुभयो ।
कार्यक्रममा प्रधानाध्यापक देवि श्रेष्ठले टाढाटाढाका विद्यार्थीलाई घर–विद्यालय आउजाउ गर्न सहज हुने हुदा सहयोगका लागी धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयका जेष्ठ सदस्य इन्द्रमणि दाहालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक, विद्यार्थि अभिभावकलगायतको उपस्थिती रहेको थियो ।
