सम्पर्क

उद्योगी सम्मान सहित सिन्धुपाल्चोकले मनायो उद्योग दिवस

घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकले शनिबार नवौं उद्योग दिवसको अवसरमा परिमायाँ तामाङ र कृष्णप्रसाद तिवारीलाई जिल्लाकै उत्कृष्ट उद्यमीको रुपमा सम्मान गर्दै आफ्नो नवौ स्थापना दिवस मनाएको छ ।
चौतारा सागाचोकगढी नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख अतिथ्यतामा घरेलु तथा साना उद्योग कार्यालय सिन्धुपाल्चोकको सभाहलमा भएको नवौं उद्योग दिवसको अवसरमा दुई उद्यमी सम्मानित हुनु भएको हो । सम्मानीत हुनुहुनेमा महिला तर्फ बाह्रविसे नगरपालिका वडा नं. ८ कि महिला उद्यमी एवं अन्जना टेलरिङ सेन्टरकी प्रोपाइटर परिमाया तामाङ र पुरुष तर्फ मेलम्ची वडा नम्बर १२ स्थित सिन्धु कृषि तथा पशु फर्मका प्रोपाइटर कृष्णप्रसाद तिवारी सफल उद्यमीको रुपमा सम्मानित हुनु भएको हो ।
सम्मानीतहरुलाई सम्मान गर्दै प्रमुख अतिथि श्रेष्ठले उद्योगीहरुलाई सरकारले दिने गरेका तालिमहरुमा तालिम लिने जमात देखिएको भएता पनि तालिम लिएपछी त्यसको उपलब्धीका बारेमा भने सिमीत रहेकोले तालीम लिनेले बिदेशीने होइन, स्थानीय स्तरमा नै तालीमको सदुपयोग गर्न पर्ने बताउँनु भयो । उहाँले उद्योग व्यवसायको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले दिंदै आएको अनुदानहरुको सही सदुपयोग हुन नसकेकोमा दुःख लागेको बताउँनु भयो ।
उहाँले अनुदानको कार्यक्रमलाई सही ढंगले अनुगमन गर्न नसक्दा र पहूँचका कारण अनुदान वितरण गर्दा दुरुपयोगको मात्रा पनि बढ्दै गएको बताउनुभयो । कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका सदस्य उजार सिं तामाङले उद्योगी, व्यवसायीहरुले कानुनीरुपमा धेरै झमेला बेहोर्नु परेको भन्दै सरकारी नीति र कानून उद्योग व्यवसायी मैत्री हुनुपर्ने बताउनुभयो । उहाँले कुनै पनी उद्योग दर्ता गर्नका लागी धेरै निकायहरु चार्न पर्दा समस्या परेकाले यस तर्फ ध्यान जान पर्ने बताउँनु भयो । यसैगरी नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले उद्योगधन्दा कलकारखाना बिना समृद्धिको सपना पुरा नहुने भन्दै राज्यले उद्योगधन्दा र कलकारखानामा बढीभन्दा बढी लगानी गर्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा डिमेगाकी अध्यक्ष सानुमाया गुरुङले सानातिना लगानी भएका उद्योगीहरुलाई घरेलु तथा साना उद्योग कार्यालयले सहयोग गरिरहेकाले केही उद्योगीहरुलाई फाइदा पुगेको बताउँनु भयो । यसैगरी सम्मानित व्यक्तित्व परीमाया तामाङले आफुले घरेलु कार्यालयबाट पाएको सहयोगका कारण बाल बच्चालाई बिद्यालय पढाउँन र परिवार पाल्नका लागी सहयोग पुगेको बताउँनु भयो ।
यसैगरी अर्का सम्मानीत कृष्णप्रसाद तिवारीले पहिले काम गर्न जोखिम भए पनी घरेलु कार्यालयको सहजताका कारण सजिलो महशुुस भएको बताउँनु भयो । यसैगरी घरेलु तथा साना उद्योग कार्यालमा भएको कार्यक्रमको अध्यक्षता गरिरहनु भएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख विश्वनाथ काफ्लेले सरकारले उद्योगीहरुको सहजताका लागी धेरै सुधारका कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
यस्तै उद्योगीहरुको प्रोत्साहनका लागी तालीम दिने उद्योगका लागी आबश्यक पर्ने सामाग्रीहरु अनुदान दिदा उद्योगीले नै रोजेर सामान खरिद गरेर बिल दिने ब्यवस्था गरिएको बताउँनुभयो । उहाँले सरकारले स्थानीय श्रोत र साधन प्रयोग गरेर स्थानीय स्तरमा उत्पादन भएका सामाग्रीहरुको बजारीकरण गर्नका लागी कार्यालयले बिभिन्न प्रकारबाट सहयोग गरिरहेको बताउँनु भयो ।
कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख शिक्षकका प्रवीणकुमार बस्नेतले गर्नुभएको थियो भने सायक कम्प्युटर अप्रेटर मनकुमारी लामाले स्वागत मन्तब्य राख्नुभएको थियो ।