सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिकाले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार राती गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई १७ लाख सहयोग गर्ने भएको छ । बिहिबार बसेको कार्यपालिकाको बैठकमा केन्द्रीय राहतकोष मार्फत एकद्वार प्रणालीमा रकम जम्मा गर्ने गरी नगरपालिकाले १७ लाख रकम घोषणा गरेको हो ।
प्राकृतिक विपत्तिको बेला एक नेपालीले अर्को नेपालीको घाउमा मलम लगाउनु पर्छ भन्ने भावले सहयोग गर्ने निर्णय गरेको बताउँदै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटाले भूकम्प पिडितहरुलाई हामी सबै तपाईको साथमा छौ भन्ने महशुुस गराउनको लागि सहयोग गरेको बताउनु भयो । भुकम्प पिडीतलाई सहयोग गर्ने मध्य सबैभन्दा धेरै सहयोग गर्ने चौतारा साँगाचोकगढी नगरपालिका भएको छ ।
यसअघि बाह्रिबिसे नगरपालिकाले १५ लाख सहयोग गर्ने घोषणा गरेको छ भने त्रिपुरा सुन्दरी गाउँपालिकाले १० लाख भोटेकोशी गाउँपालिकाले १० लाख बलेफी गाँउपालिकाले ५ लाख, जुगल गाँउपालिकाले ३ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका छन भने जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्वोले ब्यक्तिगत रुपमा र उहाँको छोरीले पनी ब्यक्तीगत रुपमा सहयोग गर्ने घोषणा गरिसकेको छ ।
गत शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परि १४७ जनाको मृत्यु भइसकेको छ भने १८० भन्दा बढी घाइते भएको थियो ।
