सम्पर्क

सेवाग्रहीले गुनासो गर्न नपाउँने गरी सेवा दिन नगर प्रमुख तामाङको निर्देशन


कुनै पनी सेवाग्रहीले सेवा लिदा गुनासो नगर्ने गरी सेवा दिन सेवा प्रवाहीहरुलाइ निर्देशन दिदै हरेक प्राणीले धर्तीमा पाइला राख्न साथ स्वास्थ्य नै आवश्यक पर्ने भएकाले यसलाई मानिसहरुले पनि पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको मेलम्ची नगरपालिकाको प्रमुख आइतमान तामाङले बताउँनु भएको छ । उहाँले हरेक नागरिकलाई पहिला स्वास्थ्यको पहुँच हुनपर्छ भन्दै स्वास्थ्य क्षेत्रमा कसैले पनी खेलबाड र हेलचक्र्याई गर्न नहुँने भएकाले भिटामिन, खोप, जुकाको औषधी खुवाउँदा मात्र होइन सधै स्वास्थ्य सम्बन्धी जानकारी लिनु दिनुपर्ने बताउँनु भयो । नगरपालिकाको मेलम्ची नगर अस्पताल लगायत नगरपालिका भित्र संचालित जुकाको औषधि वितरण र भिटामिन ‘ए’ खोप कार्यक्रमको शुक्रबार अनुगमनको क्रममा उहाँले यस्तो बताउँनु भएको नगरप्रमुख सचिवालयका मानकाजी पाख्रीनले जनकारी दिनुभयो । सोहि अवसरमा नगर प्रमुख तामाङले सेवाग्राहीलाई गुनासो गर्ने ठाउँ नरहनेगरी सेवा प्रवाह चुस्त दुरुस्त बनाउन निर्देशन दिनुभएको थियो । संघिय स्वास्थ्य सेवा विभागका महानिर्देशक संगिता मिश्रले मेलम्ची नगरपालिकामा रहेको नगर स्वास्थ्य कार्यालयबाट भएका कामहरुका बारेमा प्रशसाँ गर्दै नागरिकलाई स्वास्थ्य सम्बन्धि सेवा दिनका लागी सरकारले कुनै कुरामा कञ्जुस्याई नगरेकोले स्थानिय स्तरमा पनि स्वास्थ्य सेवा प्रदान गर्न कञ्जुस्याई नगर्न मातहातका कर्मचारीलाई निर्देशन दिनुभयो । अनुगमनमा नगरपालिकाकी उपप्रमुख उमा प्रधान, विभागका निर्देशक विवेकलाल कर्ण, स्वास्थ्य कार्यालय सिन्धुपाल्चोककी प.हे.न. अधिकृत पार्वती विष्ट, डा. दुर्गा मानन्धर, मेलम्ची स्वास्थ्य शाखा प्रमुख अस्मिता सापकोटा लगायतले अनुगमन तथा निरीक्षण गर्नु भएको थियो । अनुगमन तथा निरीक्षण पश्चात् नगर अस्पतालले प्रदान गर्ने सेवा प्रवाह र प्रगति विवरणको अस्पतालका डा. श्रीराम अर्यालले प्रस्तुतिकरण गर्नु भएको थियो । मेलम्चीको नगर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरी उत्पादन गरिएको छ भने सुविधा सम्पन्न एम्बुलेन्सको समेत व्यवस्था गरिएको सचिवालयका पाख्रीनले जानकारी दिनुभयो ।