मेलम्ची नगरपालिका वडा नं. ९ स्थित ज्यामिरे स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । मेलम्ची नगरपालिका प्रमुख तामाङले भवन उद्घाटन गर्दै सेवादिने कुरामा कन्जुस्याइँ नगर्न आग्रह गर्नुभयो । उहाँले भवन निर्माण सम्पन्न पश्चात् सम्पुर्ण सेवा यहीँ स्वास्थ्य चौकी बाट हुने भएकाले संरचना बनिसकेपछि पायक अपायक भनेर नभन्न आग्रह गर्नुभयो । उहाँले ज्यामिरेलाई समृद्ध बनाउनका लागी यो पार्टी त्यो पार्टी नभनी एकढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निमेश मिश्रले भवन बनिसकेपछि स्थानीयले नै संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले स्वास्थ्य चौकीका लागी आवश्यक जनशक्ति र स्रोत साधनको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो ।
कार्यक्रममा जग्गा दाता रामचन्द्र गिरि र लिलाकुमारि गिरिलाई सम्मान गरिएको थियो ।
वडा अध्यक्ष किरणदिप खड्काको अध्यक्षतामा भएको कार्यक्रममा निबर्तमान अध्यक्ष कमल खड्का,चन्द्रबहादुर तामाङ, भरत खड्का लगायतले आफ्नो भनाइ राख्नुभएको थियो ।
कार्यक्रमको अवसरमा मेलम्ची नगरपालिकाको तर्फबाट दलित समुदायलाई परम्परागत पञ्चे बाजा प्रदान गरिएको थियो ।
