सम्पर्क

महभीरमा बन्यो विद्यालय, स्थानीय खुशी

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–३ महभिरमा विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् ।
नगरकै विकट र दुर्गम तामाङ समुदायको मात्र बसोबास रहेको महभीर गाउँमा श्री आदर्श आधारभूत विद्यालय निर्माण भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् । प्राथमिक तहको पढाइकै लागि पनि डेढ घण्टा हिँडेर छिमेकी गाउँमा पुग्नुपर्ने समस्याबाट गाउँका केटाकेटीले त्यही समयदेखि मुक्ति पाएका छन् । स्कुल अभावकै कारण पढ्नबाट वञ्चित विद्यार्थीले आफ्नै गाउँमा पढ्ने अवसर पाएकोमा खुशी लागेको स्थानीय बासिन्दा बताउनुहुन्छ । नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर्मनीको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पोडे तामाङले जानकारी दिनुभयो ।

शुक्रबार नयाँ भवनको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख कृष्णप्रसाद सापकोटा र दातृसंस्था नेपालहिल्फे वाइलंग्रीस इ.भी., जर्मनीका प्रतिनिधि राल्फ पेश्चल र मिखाइल रेवेलेले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन एवं हस्तान्तरण गर्नुभयो ।

विद्यालय भवन सहितका आवश्यक पूर्वाधार निर्माणले गाउँमा खुसीयाली छाएको वडा नं. ३ का वडाअध्यक्ष टेक बहादुर तामाङले बताउनुभयो ।