सम्पर्क

स्वास्थ्यमन्त्री बस्नेतको पहलमा चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले तोड्यो अनसन

 स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतको विशेष पहलमा बिगत ३८ दिनदेखि माइतिघर मण्डलामा रिले अनसन बसिरहेका चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका पदाधिकारीहरुले सोमबारदेखि अनसन तोडेका छन् । मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको र चिकित्सा शिक्षा ऐन छिट्टै संसोधन हुने तयारीमा रहेको आवश्वास दिएपछि १४ सुत्रिय माग राखेर अनसन बसेका उनीहरु हाललाई आफ्नो सडक संघर्ष स्थगित गर्न राजी भएका हुन ।
अनसन तोडाउन स्वास्थ्य मन्त्री आफ्नो सचिवालयका स्वकिय सचिव रामेश्वर आर्चाय र रामचन्द्र दुलाललाई माइतीघर पठाउनुभएको थियो ।
मन्त्री बस्नेतका प्रतिनिधि आचार्यले अनसनमा बसिरहेका संघर्ष समितिका सदस्यहरुलाई जुस पिलाएर अनसन स्थगित गरेका थिए । अनसन स्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका वरिष्ठ पाँच जना पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुग्नभएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेत सहित भएको वार्तामा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेल, अतिरिक्त सचिव डा.विकाश देवकोटा, डा. टंक वाराकोटी लगायत थिए भने संघर्ष समितिको तर्फबाट संयोजक निर्मल सापकोटा, सहसंयोजक भुवनचक्र जोशी लगायतका पदाधिकारी थिए । वार्तामा संघर्ष समितिका संयोजक सापकोटाले आफूहरुले उठाएका १४ वटा मागका बिषयमा मन्त्री बस्नेतलाई जानकारी गराउदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना मागहरु सम्बोधन हुनु पर्नेमा जोड दिएका थिए ।
स्वास्थ्य मन्त्री बस्नेतले प्रधानमन्त्री विदेशमा रहेका बेला स्वास्थ्य मन्त्री र चिकित्सा सेवा आयोगको सहअध्यक्षको हैसियतले चिकित्सा शिक्षा ऐन संसोधन गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी गराउदै यसका बिषयमा शिक्षा मन्त्री र प्रधानमन्त्री समेत सकारात्मक भएकोले संघर्ष समितिले उठाएका मागहरु चाडै संवोधन हुने विश्वास दिलाउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो, ‘ चिकित्सा शिक्षा ऐनमा भएका राम्रा कुरालाई अंगिकार गरेर जान सकिन्छ । सुधार गर्नु पर्नेलाई संसोधन गर्न सकिन्छ । यस बिषयमा मन्त्रीपरिषद्मा समेत चर्चा भइसकेको छ । प्रधानमन्त्रीज्यु समेत सकारात्मक हुनुहुन्छ ।’ चिकित्सा ऐन संसोधन गर्न नसकिए अवको पाँच वर्षमा नेपालमा चिकित्सक र नर्सहरुको अभाव हुने दावी गर्दे प्रधानमन्त्री विदेश भ्रमणबाट फर्किसकेपछि यसका बिषयमा ठोस पहल हुनेमा जोड दिनुभयो । संघर्ष समितिले राखेका जायज मागहरुप्रति सरकार सकारात्मक ढंगले अगाडि बढिसकेकाले अव आन्दोलन गरिराख्नु नपर्नेमा मन्त्री बस्नेतको जोड थियो । मन्त्री बस्नेतले संघर्ष समितिले उठाएका जायम मागहरु समस्या समाधानका लागि अगाडि गर्नु पर्ने पहल कदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकाश देवकोटालाई फोकल सर्जन तोकेका छन् ।