नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर नेम्वाङको बाटोमै निधन भएको उहाँका स्वकीय सचिव कृष्णप्रसाद काफलेले जानकारी दिनुभयो । शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनका अनुसार, नेम्वाङलाई आज बिहान १ः२० बजे अस्पताल ल्याएको थियो । डा. महर्जनका अनुसार, नेता नेम्बाङको ४ः२० मिनेटमा निधन भएको औपचारिकरुपमा अस्पतालले घोषणा गरेको हो । विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाउनुभएको थियो ।
