सम्पर्क

मेलम्चीको पानी दसैँअघि उपत्यकामा वितरण गर्न मुस्किल

वर्षायाममा बन्द गरिएको मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा दसैँअघि वितरण गर्न मुस्किल भएको छ ।
पानी पठाउने मुख्य स्थान एक नम्बर गेट र पानी खोल्ने र बन्द गर्ने नौ नम्बर गेटबाहिर बाढीले ढुङ्गा, माटो थुपारेका कारण दसैँअघि पानी लैजान सकिने सम्भावना कम रहेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । ढुङ्गा, माटोले के कति पुरिएको छ भन्ने बर्सात सकिएपछि मात्रै थाहा हुने उहाँले बताउनुभयो । “अहिले मुहान क्षेत्रमा पुग्न सक्ने अवस्था छैन । प्राविधिकहरूको भनाइ अनुसार १६ मिटरभन्दा बढी हेडवक्र्स र सुरुङको मुख वरपर ढुङ्गा, माटो र गेग्य्रान थुप्रिएको छ,” श्रेष्ठले थप्नुभयो ।
मेलम्ची खोलामा धमिलो पानी आउन थालेपछि असार १८ गतेदेखि आयोजनाको हेडवक्र्सबाट सुरुङमा पानी हाल्न रोकिएको छ । आयोजनाले सुरुङमा पानी पठाउन रोकेका कारण ठुलो क्षति नभएको आयोजनाले जनाएको छ ।
मेलम्चीको पानी पहिलो पटक २०७७ फागुन २२ गते सुन्दरीजलमा पु–याइएको थियो । त्यही वर्षको चैत १५ गतेदेखि परीक्षणस्वरूप काठमाडौँमा पानी वितरण गरिएको थियो तर २०७८ असार १ गतेको बाढीले क्षति पु–याएपछि पानी वितरण बन्द भएको थियो । बाढीले क्षति पुगेको मुहान क्षेत्र र अन्य संरचना मर्मत सुधार गरेर २०७८ चैत अन्तिम साताबाट फेरि पानी वितरण गरिँदै आएको थियो  ।