सम्पर्क

सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्छ ः सचिव दुवाडी

काठमाडौं 
भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीले सुशासन र स्वनियमनमा रहेर सदस्यको आर्थिक स्तर उकास्न भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को १३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख अथितिथिको रुपमा बोल्दै उनले सदस्यको हित अभिवृद्धि गर्नु सहकारीको दायित्व भएकोमा जोड दिनुभयो । ।
शहरी क्षेत्रमा रहेका केही संस्थाहरुले सहकारीका मूल्य, मान्यता र सिद्धान्त विपरित काम गर्दा समस्या उत्पन्न भएको उहाँको भनाई छ ।
संख्यात्मकरुपमा नगन्य संस्था समस्यमा परेको भएपनि त्यसले सिंगोे अभियानको विश्वसनीयतामाथि नै प्रश्न चिन्ह खडा गरेको उनले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘३२ हजार सहकारी मध्ये एक दुई प्रतिशत संस्थामा समस्या उत्पन्न भएपनि आम जनमानसमा सहकारी प्रतिको बुझाई र विश्वसनीयतामा गम्भीर विचलन आएको छ ।’ मुलुक संघीय संरचनमा गएसंगै कार्यक्षेत्रको आधारमा सहकारीहरु स्थानीय र प्रदेशमा हस्तान्तरण भएपनि संरचनागत ब्यवस्था नहुँदा प्रभावकारी नियमन हुन नसकेको उहाँले स्वीकारनुभयो । राज्य, अभियान र सरोकारवाला निकायबीचको सामञ्जस्यबाट अहिलेको समस्यालाई समाधान गर्न सकिने उहाँको धारणा छ । ‘विगतको जस्तो प्रतिवेदन दराजमा थन्किएर बस्दैन । अघिल्ला प्रतिवेदनहरुलाई कार्यान्वयनका लागि सम्बन्धित निकायले तदारुकता नदेखाएको र सुझाव दिने ब्यक्ति नै कार्यान्वयन तहमा बस्दा कार्यान्वयन हुननसकेको उहाँले बताउनुभयो । मुलुकभरिका ७७ जिल्ला मध्ये ६० जिल्लाका सहकारीमा कुनै समस्या नरहेको उल्लेख गनुभयो । कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्यालले राज्यले सहकारी ऐन कानुनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न नसकेकाले अहिलेको समस्या उत्पन्न भएको बताउनुभयो ।
वित्तीय सहकारीलाई प्रभावकारी नियमनको आवश्यता पर्छ भने अन्य सहकारीलाई राज्यले प्रवद्र्धन, अनुदान र सहुलियत दिनुपर्ने अध्यक्ष पौड्याल भनाई छ ।
सहकारीमा सदस्य र बचतको सुरक्षा पहिलो भएको भन्दै अध्यक्ष पौड्यालले विसंगति र कुकृति बोकेका संस्थालाई बोेकेर बस्नुपर्छ भन्ने पक्षमा आफू नरहेको प्रष्ट पार्नुभयो । राष्ट्रिय सहकारी बैंकका निमित्त सिईओ मनोज खड्काले सञ्चार जगतले सहकारीमा देखिएका विकृति र विसंगतिको उजागार गर्नुका साथै राम्रा पक्षलाई समेत थप उजागार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी विभागले २०७६ सालमा प्रकाशित गरेको तथ्याङ्कलाई आधार मानेर समाचार सम्प्रेषण गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणको तथ्याङ्क पनि विश्वसनीय नभएको भन्दै उहाँले अहिले कुन संस्था कस्तो अवस्थामा छ भनेर यकिन गर्न गाह्रो भएको औंल्याउनुभयो । सिजेएनका पूर्वअध्यक्ष डिल्ली सापकोटाले मुलुकमा छाएको आर्थिक मन्दीको प्रभाव सहकारी क्षेत्रमा समेत परेकाले त्यसबाट बाहिर निकाल्न राज्य, अभियान र सरोकारवाला सबै निकाय मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सिजेएनका अध्यक्ष काजी श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमकोे संचालन सचिव अर्जुन खतिवडाले गर्नुभएको थियो ।
यसै अवसरमा नेपाल सहकारी पत्रकार समाजले हरेक वर्ष प्रदान गर्दै आएकोे सिजेएन राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८० सहकारी सञ्चार मासिकका कार्यकारी सम्पादक हिरा बस्नेतलाई प्रदान गरेको छ । सचिव दुवाडीले बस्नेतलाई प्रशंसापत्र र नगद २० हजार सहित पुरस्कृत गरेका थिए । विगत डेढ दशक देखि सहकारी क्षेत्रलाई मुख्य बिट बनाएर पत्रकारिता गर्दै आउनुभएको बस्नेतलाई सिजेएनले यस वर्षको पत्रकारिता पुरस्कार प्रदान गरेको हो । सिजेएनले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा संस्थापकहरुलाई क्रमशः सम्मान गर्दै आएको छ ।