सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका — ७ दुवाचौरमा रोपाईं जात्रा मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन प्रताप मल्लको पालाबाट मनाइँदै आएको रोपाईं जात्रालाई मनाउदै आएको स्थानीय विरबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
मौलिक जात्राको रुपमा मनाइने रोपाईं जात्रामा धान रोप्नेदेखि लिएर रमाइलो गर्नेसम्मका कार्य गरिन्छ । कृषिप्रधान देश भएका कारण धान रोपी सकेपछि बाटोमा धान रोपी, हिलो छेपेर रमाइलो गर्ने श्रेष्ठको भनाइ छ । झाँकी सहितको जात्रामा दुवाचौर बजार परिक्रमासँगै पोखरेदेखि सेल्लेसम्म पुगेर जात्रा सम्पन्न भएको छ । मेलम्ची ७ दुवाचौरको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् ।
किसानलाई फुर्सद भएकाले रोपाईं जात्रामा कामको थकान मेटिने, मनोरञ्जन हुने, व्यङ्ग्य गर्ने, राजा रानीको रुपजस्तो श्रीपेच लगाएर घोडा चढेर आउने झाँकीले त्यसबेला राजादेखि प्रजासम्मले रोपाईं जात्रामा सहभागी भई कृषकसँग खुसीका हातेमालो गर्दथे । विशेषतः नेवार र अन्य जातीहरु समेत यसमा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले यो तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्त्वको जात्रा बनेको छ । यसले साँस्कृतिक एवं जातीय एकतालाई मजबुत बनाउँदै लगेको पाइन्छ । धार्मिक, सांस्कृतिक एकताको अनुपम नमुना हो रापाईं जात्रा । यसलाई संरक्षणमा अझ जोड दिन सके पर्यटन प्रवर्द्धन हुने पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको भनाइ छ । प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँजात्रा गरेपछि वर्षभर निधन भएकाले मोक्ष एवं शान्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ ।
