सम्पर्क

प्रत्यारोपण केन्द्र बनाउने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्वता

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका लागि छिट्टै जग्गा खोजेर नयाँ भवन बनाएर सेवा सञ्चालन गरिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
लामो समयदेखि सेवा विस्तारका लागि जग्गा उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै आइरहेको केन्द्रको सोमबार अनुगमनपछि बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले उपयुक्त भवनको अभावमा केन्द्रले प्रदान गर्ने सेवा विस्तार हुन नसेकेकोले जग्गा खोजेर त्यहाँ तत्काल नयाँ भवन बनाएर सेवा विस्तार गर्ने बताउनुभयो ।
मन्त्री बस्नेतले भन्नुभयो, ‘ केन्द्रले मिर्गौला र कलेजोका विरामीलाई प्रदान गरिरहेको सेवा उत्कृष्ठ छ । भवन अभावमा सेवा विस्तार गर्न सकिरहेको छैन् । केन्द्रका लागि जग्गा खोज्ने र नयाँ भवन बनाउने कुरामा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ । यो प्रस्ताव म छिट्टै मन्त्रीपरिषदमा लैजान्छु र कार्यान्वयन गर्छु ।’ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विरामीहरुलाई प्रदान गरिरहेको सेवा र मिर्गौला तथा कलेजो प्रत्यारोपणमा गरिरहेको उल्लेखनीय कामको तुलनामा राज्यले गरेको लगानी न्युन भएकाले लगानी बढाउन पनि आफु सकारात्मक रहेको मन्त्री बस्नेतले बताउनुभयो ।
केन्द्रका कार्यकारी निर्देशक डा.श्रेष्ठले कम्तिमा पनि ३० रोपनी जग्गा उपलब्ध भए नयाँ भवन बनाएर तत्कालका लागि सेवा विस्तार गर्न सकिने जानकारी दिनुभयो ।
केन्द्रका निर्देशक डा.श्रेष्ठका अनुसार केन्द्रले स्थापनाको एक दशकमा एक हजार एकसय ६ वटा मिर्गौला प्रत्यारोपण र १३ वटा कलेजोको सफल प्रत्यारोपण गरिसकेको जानकारी गराएका थिए । केन्द्रले बर्षमा ८ सय सर्जरी गर्ने गरेको जानकारी दिदै गत वर्षमात्र केन्द्रमा ५५ हजार विरामीले बहिरंग सेवा लिएको डा. श्रेष्ठले जानकारी दिनुभयो ।