निजी क्षेत्रले शिक्षामा पुर्याएको योगदानको अवमूल्यन गर्दै त्रुटिपुर्ण, एकतर्फी र चरम स्वेच्छाचारी रूपमा आउन लागेको शिक्षा ऐनको संशोधनको माग सहित प्याब्सन, एनप्याब्सन र हिसानको देशव्यापी संयुक्त आन्दोलनको प्रथम चरण अन्तर्गत सिन्धुपाल्चोक प्याब्सन र एनप्याव्सनद्वारा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक , शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोक र विभिन्न स्थानिय निकायहरुमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका तत्कालिन सचिव श्री रामकृष्ण सुबेदीद्वारा हस्ताक्षरित, विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको ‘‘विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’’ सरोकारवालाका सुझावहरूलाई वेवास्ता गरी तयार गरिएको सम्बन्धमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । विधेयकमा राखिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्र नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण समेत भएको हामीले महसूस गरेका छौँ । हाल निजी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू नै समस्याग्रस्त रहेको र शैक्षिक गुठी दर्ता तथा सञ्चालन सम्बन्धमा स्पष्टता नभएको अवस्था विद्यमान छ भनीएको छ। एन प्याब्शनका अध्यक्ष दामोदर भारती र प्याब्शनका अध्यक्ष ओम प्रकाश उप्रेती द्धारा हस्ताक्षेरित ध्यानाकर्षणपत्रमा प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनु पर्ने लगायतका बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित, अव्यवहारिक र दुराशययुक्त रहेको स्पष्ट देखिन्छ । निजी लगानीका विद्यालयको छाता सङ्गठनको प्रतिनिधित्व हुनु पर्ने विभिन्न समिति तथा उपसमितिहरूमा समेत वेवास्ता गरी प्रस्ताव गरिएको विद्यमान विधेयक विभेदकारी हुनुका साथै अन्यायपूर्ण रहेको हुँदा यथास्थितिमा विधेयक पारित भएमा निजी लगानीका विद्यालयहरूको वृद्धि, विकास, सुरक्षा, संरक्षण र सम्बद्र्धन, असंभव मात्र नभई यस्ता विद्यालयहरू बन्द हुने निश्चितप्राय छ । अतः उक्त विधेयक संसद्मा पेस हुन अगावै हाम्रा सरोकारका प्रावधानहरूको उचित सम्बोधन नभएमा देशैभरी सञ्चालित निजी लगानीका विद्यालयहरू बन्द गरी थप आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाहेक हामीसँग अन्य कुनै पनि विकल्प नरहने व्यहोराका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कुनै ठोस निकास प्राप्त नभएको खण्डमा केन्द्रीय कार्यसमितिले आफ्ना माग पुरा नभएसम्मका लागि देशैभरीका कम्पनी, निजी गुठी तथा सार्वजनिक गुठी अन्तर्गत सञ्चालित विद्यालयहरू बन्द गरी अगाडि बढ्ने निर्णय गरी निर्देशन दिए पश्चात यस जिल्लका विद्यालयहरू केन्द्रको निर्देशन प्राप्त हुनसाथ बन्द हुने विषय ध्यानाकर्षणका लागि अनुरोध गर्दछौँ । हामीले बाध्यतावश गरेको यो निर्णयलाई यस पालिकाले सहजरूपमा बुझी आवश्यक सहयोग गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । भनीएको छ ।
