२०७८ असार १ देखि निरन्तर आएको बाढीले हेलम्बु गाउँपालिका–२, गणेशबगर क्षेत्रमा मात्र लगभग ३५ घर बगायो । त्यस क्षेत्रका स्थानीय कतिपयको घर पूरै भासियो त कतिपयको फेरि प्रयोग गर्न नसकिने गरी भत्किए ।
गणेशबगरका स्थानीय लीलाबहादुर ज्योतिले चार वर्षअघि १७ लाख रुपियाँमा किनेको जग्गामा घर बनाउनुभएको थियो । घर बनाएको वर्षदिनमै घरजग्गा बाढीले बगायो । उहाँले भन्नुभयो, “घर बन्नासाथ छोराको विवाह गरिएको थियो । त्यही घर बाढीले भत्कायो । त्यसपछि एक वर्षका लागि भनेर अस्थायी बसोबास बनाइएको थियो । एक वर्ष त के तीन वर्ष भयो स्थायी बसोबासको कुनै वातावरण बनेको छैन ।” उहाँका श्रीमती, छोरा–बुहारी गरी चार जनाको परिवार छ ।
त्यहीँका स्थानीय ३५ वर्षीय कामी तामाङका श्रीमती र चार सन्तान गरी छ जनाको परिवार छ । फेरि वर्षात सुरु भएको छ । तर तत्काल बनाएको अस्थायी टहरा पनि उहाँको परिवारका लागि सुरक्षित छैन । उहाँले भन्नुभयो, “बालबच्चा छन्, बस्ने ठाउँ राम्रो सुरक्षित छैन । गर्मीमा धेरै गर्मी, जाडोमा धेरै जाडो हुन्छ । अस्थायी टहरा दिइएको छ । फेरि बर्खा लाग्दैछ, बाढी, पहिरो आउने डर छ ।”
सिन्धुपाल्चोकको निकै चल्ने बजारमध्ये हो– चनौटे बजार । हेलम्बु गाउँपालिका–७ का स्थानीय हस्त पण्डितका अनुसार यो बजार विगतमा मेलम्ची बजारभन्दा ठुलो कारोबार गर्ने व्यावसायिक बजार थियो । तर बाढीले तहसनहस बनाएपछि अहिले यो अस्ताएको छ । चनौटेमा रित्ता घर छन् । बाढीपछि सो बस्ती सुनसान बनेको छ । स्थानीयवासी पण्डितले भन्नुभयो, “लगभग ५० मध्ये २५ घर बगायो, २५ घर बाँकी छन् । यहाँ कुनै पनि घरमा मान्छे बसेको छैनन् । हिउँदमा बस्नका लागि अहिले हामी तयारी गरिरहेका छौँ ।”
स्थानीय कामी तामाङलाई सुरक्षित बसोबास नभएका कारण विगतमा झैँ बाढीपहिरो आए फेरि पनि गाँस, बास, कपासको समस्या हुने डर छ । उहाँले भन्नुभयो, “बाढीले यस्तो क्षति भएको छ । घर, खेतबारी सबै ऋणमा डुबेको छ । यसअघि दोस्रो चनौटे बजार भनेर पनि चिनिन्थ्यो गणेशबगर । स्थानीय लीलाबहादुर भन्नुहुन्छ, “यस क्षेत्रको आवाज धेरै अधिकारकर्मी र मिडियामा पनि उठ्यो । तर हामीलाई केही नहुने रहेछ । अब त हामी व्यापारीकरणमा परेका छौँ । सङ्घ, संस्थाले हामीलाई कमाइ खाने भाँडो बनाइरहेका छन् कि जस्तो लाग्छ । यहाँ एकीकृत बस्ती बनाइदिए हुन्थ्यो ।”
हेलम्बु गापा–७ का स्थानीय हस्त पण्डितले चनौटेमा तीन वटा ठुला ठुला ट्राउट फर्म, खेतीयोग्य जमिन र सबै बजार बगरमा परिणत भएको स्मरण गर्नुभयो । बजार संरक्षणका लागि उपभोक्ता सिँचाइ विभागबाट मेलम्ची करिडोरमा काम भइरहेको उहाँको भनाइ छ । “अघिल्लो वर्ष करिब चार करोड रुपियाँको काम उपभोक्ता समितिको परिचालनमा भएको थियो । हेलम्बु र मेलम्ची गरी करिब निर्माण व्यवसायीको २८ करोड लगानी भएको जानकारी मलाई छ ।” यतिबेला समितिले नदी नियन्त्रण र खोला खार्ने काम गरिरहेको उहाँले बताउनुभयो ।
स्थानीय तथा व्यवसायीले विगत तथा वर्तमान सरकारलाई विस्थापित परिवारलाई राहत एवं क्षतिपूर्तिका लागि मेलम्ची नदी कोरिडोर एकीकृत विकास परियोजना बनाउनुपर्ने विषयमा पटक पटक ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराइएको बताउनुभयो । “यो असाध्यै राम्रो उर्वर भूमि हो । राम्रो बाली हुन्थ्यो । बाँकी रहेको जमिनलाई फेरि पनि खेतीयोग्य बनाउन सकिन्छ भनेर यो परियोजनामार्फत व्यवस्थापन हुनुपर्ने भन्दै आएका छौँ,” उहाँले भन्नुभयो ।
