सम्पर्क

डेङ्गु सङ्क्रमण बढ्दै

पछिल्लो समय नेपालमा डेङ्गुको सङ्क्रमण बढिरहेको
छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरेको छ ।
एक वर्षको डेङ्गु रोकथाम तथा नियन्त्रण कार्ययोजनामा डेङ्गु सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको इमिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । उहाँका अनुसार असोजपछि भने डेङ्गु सङ्क्रमण क्रमशः कम हुँदै जाने छ । उहाँले वर्षायाम सुरु भएसँगै असारको अन्तिम सातादेखि सङक्रमण ह्वात्तै बढेको बताउनुभयो । गत वर्ष पनि वैशाखदेखि नै सङ्क्रमण देखिन थालेको र भदौदेखि कात्तिकसम्म उच्च सङ्क्रमण भई देशभरिका ७७ जिल्लामा फैलिएको थियो । “बर्खायाम सुरु भएसँगै पानी पर्न थालेपछि सङ्क्रमण बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “निरन्तरको वर्षा र पानीले सङ्क्रमण अझै बढ्ने जोखिम छ ।” महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ सङ्क्रमण भएकामा साउन १ गतेसम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० पुगेको छ ।
महाशाखाका निर्देशक डा मरासिनीले कार्ययोजनाअनुसार डेङ्गु रोकथाम र नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको सरकारका साथै अस्पतालहरूलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो ।