मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालका अनुसार दुई वर्षअघि २०७८ असार १ देखि निरन्तर आएको बाढीले मेलम्चीमा दुई सय ७३ व्यक्तिको घर तथा १८ सय रोपनी जग्गा बगाएको थियो । १२ सय रोपनी सार्वजनिक जग्गा, दुई वटा मोटरेबल पुल, एउटा झोलुङ्गे पुल र एउटा विद्यालय बगायो । अन्य चार वटा झोलुङ्गे पुलमा पनि क्षति पु¥यायो ।
उहाँले भन्नुभयो, “त्यो बेलाको मूल्याङ्कन अनुसार व्यक्तिगत र सार्वजनिक गरेर करिब ५७ अर्ब क्षति भएको थियो । पीडितलाई स्थानीय सरकारले राहत तथा पुनर्वासका लागि पहल गरिरहेको र दुई सय ७३ जनालाई पुनर्निर्माण लाभग्राही घोषणा गरिएको छ । ३० जनालाई पुनस्र्थापनाका लागि पहल भइरहेको छ ।”
उहाँले क्षतिका आधारमा पुनर्निर्माणका लागि पाँच लाख र पुनस्र्थापनाका लागि आठ लाख रुपियाँ उपलब्ध गराइने बताउनुभयो । अधिकांशलाई दोस्रो किस्ताको रकम उपलब्ध गराइएको उहाँको भनाइ छ ।
“प्रदेश तथा सङ्घीय सरकारले बस्ती संरक्षणका लागि बजेट राखेको मेलम्ची नगरपालिकाको प्रमुख आईतमान तामाङ बताउनुहुन्छ । नगरपालिका प्रमुख तामाङ कार्यविधिले मनसुनजन्य विपत् प्रभावित नीति पुनर्वास तथा पुनस्र्थापना अनुदान कार्यविधि २०७७ अनुसार काम गरिरहेका बताउनुहुन्छ । सङ्घीय र प्रदेश सरकारले स्थानान्तरणभन्दा पनि बस्ती संरक्षण गर्नुपर्छ भनेर लागिरहेको देखिन्छ । यसले भोलिका दिनमा कस्ता कानुनी अड्चन आउँछन्, त्यो हेर्न बाँकी छ ।” बाढी तथा पहिरोपीडितले पहिलो किस्तामा राहत स्वरूप ५० हजार रुपियाँ प्राप्त गरिसकेको तामाङ बताउनुहुन्छ । वर्षायाम सुरु भएसँगै फेरि पनि विगतमा झैँ बाढी पहिरोको वितण्डा भोग्न नपरोस् भन्ने चिन्ता तामाङलाई छ ।
वाढीले पक्की पुल वगाएर वर्खामा वारी–पारी आवतजावत गर्न निकै कष्ठकर यात्रा गर्नुपरिरहेको थियो । मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको एक साताभित्र निर्माण पूरा हुने भएको छ । यो पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन हुने आशा स्थानीयबासीमा पलाएको छ ।
मेलम्चीमा म्याटियर प्यानल ब्रिज निर्माणको काम तोकिएको समयावधि अगावै निर्माण पूरा हुने देखिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख तामाङले एमपीबी ब्रिज अर्थात् पुल निर्माणको कार्य अबको एक साताभित्र पूरा हुने बताउनुभयो ।
प्रमुख तामाङले भन्नुभयो, “दुई वर्षअघि २०७८ असार १ गते र त्यसयता निरन्तर आएको बाढी पहिरोका कारण मेलम्ची र चौतारा जोड्ने मोटरेबल पुल बगाएको थियो । यससँगै अरु पक्की पुल पनि बगायो । यस विषयमा सरकारको सम्बन्धित निकायमा समय–समयमा पुल निर्माणका लागि हामीले ध्यानाकर्षण गरायौं । प्रतिनिधिसभाका सांसद एवम् अहिलेका स्वास्थ्यमन्त्री, प्रदेश सांसद र मेलम्ची नगरको पहलमा यो पुल बन्दैछ । यो लगभग दश, एक साताभित्रै सम्पन्न हुन्छ ।”
प्राकृतिक विपत्को ‘हटस्पट’ का रूपमा रहेको सिन्धुपाल्चोक मेलम्चीमा मनसुन सुरु हुनुपूर्व विपत् न्यूनीकरण र विपत् प्रतिकार्यका काम तिव्रगतिमा भईरहेका छन् ।
जिल्ला र स्थानीय विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरण र प्रतिकार्यका लागि नीति योजना निर्माण गर्दै व्यवस्थापन र उद्धारको पूर्वाभ्यास, जोखिमयुक्त स्थानको भौगर्भिक अध्ययन, विपत् पूर्वसूचना प्रणाली, समुदाय स्तरमा खोज तथा उद्धार, प्राथमिक उपचारलगायतका पूर्वतयारीका काम भएको जिल्ला विपत् व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रमेश न्यौपानेले जानकारी दिनुभयो ।
विपत् प्रतिकार्ययोजना तयार गरिरहेको, स्वयम्सेवक, विशेषज्ञ, परामर्शदाता परिचालन र सुपरिवेक्षण गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट गरिने उद्धार तथा राहतमा समन्वय गरिरहेको उहाँले बताउनुभयो । विपतबाट उच्च जोखिममा रहेका बस्तीको भौगर्भिक अध्ययन भइरहेको र उक्त जोखियुक्त बस्ती स्थानान्तरणबारे सुरक्षित स्थानको खोजी भइरहेको प्रजिअ न्यौपानेले जानकारी दिनुभयो ।
