विपना तामाङ (गोले)
ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी (रेष्ट) सिन्धुपाल्चोकको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक आज (मंगलबार) सम्पन्न भएको छ । जिल्ला परियोजना सल्लाहकार समितिका अध्यक्ष, सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा संस्थाले सञ्चालन गरेका कार्यक्रम र आगामी योजनाका बारेमा संस्थाका अध्यक्ष कमला अधिकारीले जानकारी गराउनु भएको थियो । कार्यक्रमले बालबिवाह तथा लैङ्घिक हिंसा, बालश्रम शोषण, चेलीबेटी बेचबिखन र असुरक्षित आप्रवासन जस्ता मुख्य विषयहरु समेटेर कार्यक्रम कार्यान्वयन गर्दै आएको बताउनुभयो ।
रेष्ट संस्थाका प्रतिनिधि आकृति घलेले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी (रेष्ट) ले जोखिममा परेका वा पर्न सक्ने बालिकाहरुलाई शिक्षा र स्वास्थ्यको संरक्षण तथा सम्बर्धन गर्न सहयोग गर्ने, लैङ्गिक हिंसा तथा विभेदको अन्त्य गर्ने र समुदायस्तरमा अभियान, पैरवि तथा क्षमता अभिबृद्घि गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । अमेरिकन हिमालयन फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालित संस्थाले ६ वटै प्रदेशमा नै सञ्चालन भईरहेको बताउनुभयो । हाल सिन्धुपाल्चोक जिल्लाका १२ पालिकाका १०२ वटा विद्यालयका १७८९ विद्यार्थी लाभान्वित भएको र आगमी दिनमा २३६० जना विद्यार्थिलाई समेट्ने लक्ष्य रहेको संस्थाका प्रतिनिधि घलेले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले अझैपनि विद्यार्थीहरू शिक्षाबाट वञ्चित रहेको र ती बालबालिकालाई पनि शिक्षाको पहुँचमा ल्याउन सबैले हातेमालो गर्नुपर्ने सुझाव दिनुभयो । रेष्टले बालिका र किशोरीलाई शिक्षाको पहुँच र जिविकोपार्जनमा सहयोग पुर्याएको भन्दै अझै थप क्षेत्र विस्तार गर्नुपर्ने समन्वय प्रमुख श्रेष्ठले बताउनुभयो ।
बैठकमा बाह्रबिसे नगरपालिकाको उप प्रमुख मन्जु तामाङ, जिल्ला समन्वय अधिकारी गोमादेवी ढकाल, जिल्ला समन्वय सचिवालय सदस्य हेमन्त श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिका शिक्षा अधिकृत पुष्पराज ढकाल, चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरी, पत्रकार महासंघ सिन्धुपाल्चोक शाखाको अध्यक्ष जीवन श्रेष्ठ, विभिन्न वडाका वडाअध्यक्षहरु, पत्रकारहरु, कर्मचारीहरु, विभिन्न गैरसरकारी संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुलगायत सरोकारवालाको उपस्थिती थियो ।
