
सिन्धुपाल्चोकचौतारा साँगाचोकगढी नगरपालिका –५ चौतारामा विगत तीन महिनादेखी नियमितयोग शिविर सञ्चालन गरिएको छ । गत फागुण १६ गतेदेखी नियमित योग शिविरको शुरुवात गरिएको थियो । जिल्ला आयुवेद कार्यालयको आयोजना र हर्ट फाउण्डेशन सिन्धुपाल्चोक तथा महिला बहुउदेश्यीय सहकारी संस्था ली. को सहयोगमा शुरु भएको योग शिविरमा दैनिक १३ देखि १८ जनासम्मका ब्यक्तिहरुको उपस्थिती रहन्छ ।
योग साधनाले हरेक कालखण्डमा बिश्व भरिका मानव समुदायलाई अत्यन्त प्रभावित गर्दै र प्रेरणा दिदै आइरहेको छ । पूर्वीय सभ्यताको बिकासक्रमलाई हेर्दा बैदिक र पूर्ववैदिक काल देखिनै समाजलाई योग ले प्रभावित गरेको पाइन्छ । बर्तमान सन्दर्भमा बिश्वभरको शिक्षा, स्वास्थ्य, बिज्ञान, कला, संस्कृति, धर्म, राजनीति, साहित्य र दर्शनलाई समेत योगले प्रभावित गर्नुको साथै प्रेरणाको श्रोत बनेको छ ।
पतञ्जलि योग दर्शन अनुसार “योगः चित्तवृत्ति निरोध” हो भन्दै योग साधना शुरु गरको पाइन्छ । पतञ्जलि योग दर्शनमा बहुचर्चित अष्टाङ्ग योग भनेर यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको बारे निकैै चर्चा गरेको पाइन्छ । जसको आशय र अर्थ यस्तो रहेको रहेछ । चौतारा स्थित बि.पी. अध्ययन केन्द्रको हलमा संचालन भएको योग प्रणायाममा चौतारा निवासी पतञ्जलि योग गुरु किरणमान श्रेष्ठले दैनिक निःशुल्क प्रशिक्षण गर्नुभएको छ ।
आजभोली केमिकलयुक्त खाद्यान्नका कारणले मानिसहरुमा बिभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । रोग लागेकाहरुले डाक्टरी औषधीहरु खाने गर्दछन् । डाक्टरी औषधिहरु अप्राकृतिक हुन्, केमिकलबाट बनाइएका हुन्, साइड इफेक्टहरु धेरै हुन्छन् । एक पटक शुरु गरेपछि सधै खाइराख्नु पर्छ , रोग नियन्त्रण गर्ने मात्र हो निर्मुल पार्न सक्ने होइन, महंगा छन् पैसा धेरै खर्च हुन्छ । त्यसैले रोग लाग्न नदिन प्रत्येक मानिसलाई योग साधनाको जरुरी छ ।
चौतारा प्रेसचोकमा दैनिक रुपले बिहान ५ बजेबाट शुरुहुने योग साधनामा डेढघण्टा सम्म दैनिक रुपले गरिने योगका आशनहरुमा अनुलम बिलोम, कपालभाती, भ्रामरी, ताडासन, त्रिकोणासन, उत्कटासन, बज्रासन, बक्रासन, गोमुखासन, पुतलीआसन, शवासन, पादोत्तनासन, नौकासन, सूर्य नमस्कार, बज्रासन, बिभिन्न ब्यायामहरु लगायतका आशनहरु गरिन्छ । योग शिबिरमा आउनेहरुले दैनिक आफ्नो वजन नाप्ने, साप्ताहिक रुपले प्रेसर र सुगर जाच गरिन्छ । दैनिक रुपले धुलो बनाएको अमला र बिरे नुन राखेको तुलसी चिया समेतको व्यवस्था छ । शिलाजितले हाम्रो शरिरका सबै अङ्गहरुलाई उर्जा मिलेको सहभागि श्री कृष्ण रत्न गंगा मा.बि. का पुर्व प्र.अ. ध्रुवलाल श्रेष्ठ बताउनुहुन्छ ।
योग शिविरको लेखाजोखा
१. यम ः यम अन्तर्गत हिंसा नगर्नु, सत्य बोल्नु, चोरी नगर्नु, ब्रह्मचार्यमा रहनु, लोभी—संग्रही नहुनु भन्ने कुरा पर्दछन् ।
२. नियम ः नियम अन्तर्गत मन र शरीर सफा राख्नु, सन्तोषी रहनु, ब्रत उपवास गर्नु, शास्त्रहरुको अध्ययन गर्नु, ईश्वरभक्ति र ईश्वरमा समर्पण गर्नु भन्ने कुरा पर्दछन् ।
३. आसन ः आसन अन्तर्गत जुन तरिकाले स्थितरता पूर्वक नहल्लिकन सुख पूर्वक कुनै प्रकारको कष्ट नहुने गरी दीर्घकाल सम्म बस्न सकिन्छ त्यो नै आशन हो भनिएको रहेछ ।
४. प्रणायामः प्राणायाम अन्तर्गत आसन सिद्धि भएपछि नियमपूर्वको श्वास, प्रश्वासको गतिलाई रोक्नु हो । यसमा तीन भेद पर्दछन् । श्वास भित्र तान्ने क्रिया, श्वास बाहिर फाल्ने क्रिया र श्वास भित्र वा बाहिर रोक्ने क्रिया पर्दोरहेछ । प्राणायाममा अनेक किसिमका उपभेदहरु पनि रहेछन्् ।
५. प्रत्याहार अन्तर्गत इन्द्रियहरुलाई उनका बहिर्मुख बिषयहरुबाट फर्काएर अन्तर्मुख गराउनु रहेछ ।
६. धारणा अन्तर्गत अन्तर्मुख भएको स्थिर चित्तलाई अन्य बिषयबाट अलग्याउदै आफ्नो ध्यान संग बाँध्नु अर्थात अडेयाउनु रहेछ ।
७. ध्यान अन्तर्गत धारणा द्धारा ध्ययमा अडिएको चित्तलाई लगातार बिना ब्यवधान ध्येय बिषयमा स्थिर गराइ रहनु ध्यान भनिदो रहेछ ।
८. समाधि ः जव ध्यान गहन गहन हुदै जान्छ ध्यान गर्ने ध्याता, ध्यानको क्रिया समेत त्यही एउटै ध्येय स्वरुप मात्रले भासित हुन पुग्दछन् ।
शास्त्रहरुमा योगको बिभिन्न बिषयहरुलाई बिस्तारमा बताइएको छ । तर, आजको भौतिक ब्यस्तताको समयमा जो कोहि पनि योगको पूर्ण साधना गर्न सक्षम हुन सक्दैन । तर पनि योग दर्शन अन्तर्गतका स्वास्थ्योपयोगी अङ्गहरु मध्ये योगासन, प्राणायाम र ध्यान प्रमुख रहेछ ।
योगासनः योगासन शारीरिक ब्यायाम रहेछ । यसबाट हाड जोर्नी, मांशपेसी, मेरुदण्ड, पेट, छाती साथै भित्री अङ्गहरु सक्रिय र स्वस्थ हुने रहेछ । रक्तसञ्चालन बढ्दोरहेछ । ग्लुकोज र चिल्लो पदार्थ पग्लिन्छन् र शरीरभित्र रहेको उर्जा प्रयोगमा आउदो रहेछ ।
प्राणायामः प्राणायाम श्वास प्रश्वासको अभ्यास रहेछ । यसबाट शरीरभित्र प्रशस्त अक्सिजन प्रवेश गर्दछ । रक्तसञ्चारमा सुधार आउदो रहेछ । पेटलाई केन्द्र मानेर गरिने प्राणायामले पेट भित्रका अङ्गहरुलाई सक्रिय पार्दोरहेछ ।
ध्यानः ध्यान स्नायू प्रणालीलाई शान्त पार्ने अभ्यास रहेछ । यसबाट मानसिक तनाव घट्ने, मानसिक तनाव संग सम्बन्धित रोगहरुलाई पनि कम गर्दोरहेछ । मन शान्त भई आनन्द प्राप्त हुदोरहेछ ।
दैनिक योग गरेमा मन चंगा र शरीर फुर्तिलो हुनेरहेछ । बिचार, चालचलन, भोजनशैलीमा सकारात्मक परिवर्तन हुने रहेछ । असल चरित्र, गुण, चिन्तनको बिकासका साथै लोककल्याणकारी काममा मन जाने रहेछ ।
