सम्पर्क

खानेपानी अभावका कारण स्थानीय समस्यामा

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी सिन्धुपाल्चोकमा भूकम्पबाट विस्थापित भएकालाई खानेपानीको समस्या भएको छ ।
२०७२ सालको भूकम्पले जमिन चिराचिरा परेपछि तीन नगरपालिका र नौ गाउँपालिकाका १०३ वटा वडामा खानेपानीको मुहान सुकेको छ ।
सुनकोसी गाउँपालिका–४, मिजारटोलका ७८ वर्षीय जितबहादुर सार्कीलाई घर नजिकै पानीको मुहान भएको स्मरण ताजै छ । खानमात्र होइन खेतबारीमा पनि यहींको पानी प्रयोग हुन्थ्यो । सो ठाउँमा पानीको मुहान थियो भनेर भन्दा अहिले कसैले पत्याउँदैनन्। । भूकमप्प्छी मुहान सुकेपछी अहिले त धाराको संरचना पनि छैन,’ मिजार विगत सम्झँदै भन्नुहुन्छ ‘यहाँ मात्र हैन गाउँभरिका मुहान सुकेका छन् । बर्सेनि पानीका मुहान सुक्दै गएपछि गाउँमा पानीको पिर थपिँदै गएको छ ।’ पानी अभावका कारण मिजारटोलमा सरसफाइमा पनि समस्या छ ।
यस्तै इन्द्रावती गाउँपालिका–१ को तल्लो बसेरी, ढाँडेलगायतका ५३ घरका विस्थापितलाई खानेपानीको अभाव छ । भूकम्पले पहिलेको बस्तीमा क्षति पुगेपछि विस्थापित भएकाहरूको दैनिकी पानी अभावमा कष्टकर भइरहेको स्थानीय हरिमाया तामाङले दुखेसो पोख्नुभयो । स्थानान्तरण गरिएको उक्त बस्तीका प्रत्येक घरमा धारा निर्माण गरिए पनि धारामा पानी आउँदैन । एक गाग्री पानी लिन तीन किलोमिटर पर पुग्नुपर्ने विस्थापितले बताएका छन् ।
सिन्धुपाल्चोकका अधिकांश आवास र बस्ती पुनर्निर्माण गरिएका छन् । पुनर्निर्माण भएका बस्तीमा खानेपानीको व्यवस्था भएको छैन । खानेपानी समस्या हल गर्न स्थानीय तहले सामान्य रूपमा काम गरेका छन् तर बस्तीमा सहजपूर्वक पानी पु–याउन सकिरहेका छैनन् । खानेपानीका लागि आएको बजेटमा पनि उपभोक्ता समिति र ठेकेदारले अनियमितता गरेका कारण खानेपानी योजनाका कामहरू अधुरो बन्न पुगेका छन् ।