सम्पर्क

सुनसान तातोपानी नाका

केही वर्ष अघिसम्म सबेरैदेखी राति अवेरसम्म ब्यस्त रहनुहुने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल चिन सीमाछेउ तातोपानी बजारमा विगतमा ब्यापार गरेर भ्याईनभ्याई हुने होटल ब्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आईदिय पनि हुन्थ्यो भन्ने लाग्छ । चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्ट हाउस सञ्चालन गर्दै आउनुभएको शेर्पा घर वनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउनुहुन्छ । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको ब्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो । २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उहाँलाई तातोपानीको घर नखाउ भने दिनभरिको सिकार , खाउ भने कान्छा बाउको अनुहार भनेजस्तै भएको छ ।
नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् ।नाका चल्यो भने गरि खान पाईएला नत्र अब छाक टार्नै मुस्किल पर्छ , शेर्पाले भन्नुभयो ।
सीमाको करिब पाँच सय मिटर तल कोदारीमा विगतको जस्तै नाका खुल्ने आशमा चार परिवार बसिरहेका छन् । अन्यत्र जान ठाउँ छैन , यहाँ वस्न पनि त्रास बाहेक केही छैन , कोदारीमा भेटिनुभएका पूर्ण बहादुर श्रेष्ठले भन्नुभयो – हाम्रो ठाउँ त अब कर्णाली भन्दा नि विकट हुन थाल्यो ।
असुरक्षा र असहजताका कारण तातोपानी नाकाबाट व्यापार गर्न छाडेका ब्यवसायीहरू सहज अबस्था आएमा पुनः ब्यापारमा फर्कन ईच्छुक छन् । तर ब्यवसायमा निरन्तर आउने उतार चढाबका कारण तातोपानी नाकाबाट हुने ब्यापारमा सहजता आउनेमा उनीहरू विश्वस्त हुन सकेका छैनन् ।
लामो समय तातोपानी नाका हुँदै चीनिया सामानको कारोवार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । तातोपानी नाकाबाटै सवै सहजता हुने हो भने आफुहरू व्यसायमा फर्कन तयार रहेको अर्जुन सापकोटा बताउँनुहुन्छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको संख्या ७० प्रतिशतले घटेको छ । व्यवसायीमात्र हैन नाकाबाट हुने व्यापार पनि त्यहि अनुपातमा घटेको श्रेष्ठ बताउनुहुन्छ ।
लामो समयदेखि तातोपानीको व्यापारबाट टाढिनुभएका अमृत खड्का विगतको जस्तै सहज वातावरण निर्माण भएमा पुनः ब्यापारमा फर्कन ईच्छुक हुनुहुन्छ । तर अझै उहाँले सोचेजस्तो सहज हुन सकेको छैन ।
तातोपानी नाका पुनः पहिलेझैं चल्ने आसमा बसिरहेका व्यापारी, कन्टेनर र होटल व्यवसायी नाका ‘खण्डहर’ बनिदिँदा निराश भएको उहाँले बताउनुभयो ।
प्रतिदिन ७ देखि ८ कन्टेनरबाट अधिकांश रोल रेडिमेड कपडाजस्ता सामग्री भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिनुभयो ।

कोरोना कालअघि ५० कन्टेनर भित्रिएकामा अघिल्लो आर्थिक २०७६÷७७ मा १ अर्ब ५९ करोड राजस्व उठाइएको थियो । ‘सीमित कन्टेनर भित्रिएर सामग्री आउने भएकाले राजस्व अझै वृद्धि हुन सकेको छैन । सडक अवरुद्घ भइरहने समस्या उस्तै छ,’ उहाँले भन्नुभयो। तातोपानी नाकाले गत आर्थिक वर्षमा लक्ष्यको १८ प्रतिशत मात्र राजस्व संकलन गरेको छ ।
काठमाडौंबाट चीनको व्यापारिक क्षेत्र खासा १ सय २४ किमि र रसुवागढी १ सय ६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा छ ।
रासस