सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले एकैदिन तीन जना फरार अपराधी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भ्रष्टाचार मुद्दामा अदालत , काठमाडौंले ३ महिना कैद र १० हजार जरिवाना तोकीएका बाह्रबिसे नगरपालिका ८ का उद्वव प्रसाद नेपाल रहेका छन् । उहाँसँगै जिल्ला अदालत काठमाडौंबाट सवारी ज्यान मुद्दामा २ बर्ष कैद तोकिएका मेलम्ची ८ का रामहरि चौलागाईं पक्राउ परेका छन् । नेपालको २०७७ चैत ३१ गते फैसला गरिएको थियोे भने चौलागाईंको भने २०६१ असार ९ गते फैसला भएको थियो । उनिहरुलाई आजै जेल चलान गरिएको छ । प्रहरीले सार्वजनिक अपराध मुद्दामा २०७२ चैत १८ गते १० हजार रुपैयाँ जरिवानाको फैसला भएका बाह्रबिसे ५ का २९ बर्षका राजकुमार बस्नेतलाई समेत पक्राउ गरेको छ । जिल्ला अदालत , सिन्धुपाल्चोकले तोकेको जरिवाना तिरेर बस्नेत मंगलबार नै छुटेको जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले बताउनुभयो । फैसला कार्यान्वयन अन्तर्गत कैद÷जरिवाना सजाय भई फरार रहेका उनिहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनिहरुलाई ईलाका प्रहरी कार्यालय मेलम्ची र ईलाका प्रहरी कार्यालय वाह्रविसेको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।
