नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीहरुले आज नेपाल बन्दको आह्वान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटे बजारमा नेकपाले नेपाल बन्दको पुर्वसन्ध्यामा मशाल जुलुस निकालेको थियो । पार्टीले अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज हुनुपर्ने, महङ्गी नियन्त्रण गर्नुपर्ने लगायत माग राखेर बन्दको घोषणा गरेको हो । नेपाल बन्दको घोषणा गरेको भए पनि काठमाडौं उपत्यका र देशभर न्यून प्रभाव परेको छ । बन्दको घोषणापछि बिहानदेखि प्रमुख चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
