सम्पर्क

ज्यामिरेमा विश्व बालश्रम विरुद्धको दिवस मनायो

मेलम्ची नगरपालिका वडा नं ९ ज्यामिरेमा विश्व बालश्रम विरुद्धको दिवस मनाइएको छ । सो अवसरमा वडा स्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरीएको छ । हरेक वर्ष जुन १२ लाई विश्वभर बालश्रम विरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । बालश्रमविरुद्ध आइएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्यूनतम उमेरसम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रमविरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो ।  मेलम्ची नगरपालिका ९ नं. वडा कार्यालय र वडा बाल संजालको संयुक्त आयोजनामा “बालश्रम मुक्त वडा बनाउन विद्यार्थीको भुमिका” विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो । सो प्रतियोगितामा सातकन्या माध्यमिक विद्यालयका सविन तामाङ प्रथम हुनुभएको छ । त्यस्तै द्वितीय र तृतीय स्थान क्रमशः जनता माध्यमिक विद्यालयका नविना बस्नेत र गोल्मेश्वरी आधारभूत विद्यालयकी सविना भएको छ । प्रतियोगितामा क्यौलेठाना आधारभूत विद्यालयका सपना तामाङ सान्त्वना हुनुभयो । वडा बाल संजालको अध्यक्ष एलिसा खड्काको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा मन्तब्य राख्दै नेपाल पत्रकार महासंघ वागमती प्रदेश सचिव युवराज पुरी, जनता माबिका प्रधानाध्यापक केदार बिष्ट लगायतका वक्ताहरुले बालश्रम मुक्त गर्न सबै सरोकारवाला सचेत र सजग हुन आवश्यक रहेको बताउनुभयो । प्रतियोगिताका विजयी छात्रछात्रालाई प्रमुख अतिथि वडा अध्यक्ष किरणदीप खड्काले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको थियो ।