नेकपा एमाले निकट अखिल नेपाल किसान महासङ्घले रासायनिक मल सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले शुक्रबार सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । सरकारले किसानहरूलाई उचित समयमा मल उपलब्ध गराउन नसक्दा किसानहरू रातोदिन पिरोलिरहेको ध्यानाकर्षणमा उल्लेख छ । ध्यानाकर्षण पत्रमा भनिएको छ । ‘यो साल रासायनिक मलको बढी नै अभाव भोग्नु परेको हुँदा हाम्रा बाली नालीको उत्पादन नै नहुने र भोकमरीको त्रासमा समेत हामी किसानहरू रहेका छौँ ’ । किसानलाई आवश्यक पर्दा पैसा तिरेर मल किन्न समेत बजारमा मल नपाईरहेको अवस्थामा छिटो भन्दा छिटो बजारमा मल ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक मार्फत नेपाल सरकारको ध्यानाकर्षण गरिएको नेकपा एमाले जिल्ला कमिटी सदस्य चरी बहादुर तामाङले जानकारी दिनुभयो । सिन्धुपाल्चोक जिल्लाको लागि तातोपानी बन्दरगाहमा स्टोर भएर रहेको मल वितरण गर्न समेत ध्यानाकर्षण गरिएको उहाँले बताउनुभयो ।
