प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले चुनावका बेला फेक न्यूजको कारखाना नै चल्न सक्ने खतरा औंल्याउँदै समाचार छाप्नु अघि सचेत रहन सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभएको छ । विभिन्न सञ्चार संस्था भन्दै स्वदेश एवं विदेशतिरबाट त्यस्ता प्रायोजित समाचार बन्न सक्ने भन्दै नेपाली मिडियाले साभार गर्दा विशेष ख्याल पुर्याउनुपर्ने उहाँको सुझाव थियो । निर्वाचन आयोगले प्रेस काउन्सिल र नेपाल पत्रकार महासङ्घको सहकार्यमा मङ्गलबार आयोजना गरेको सञ्चारकर्मीहरुको एक दिने अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले मिथ्या सूचना (फेक न्यूज), दुस्प्रचार र गलत समाचार दिनबाट जोगिनुपर्ने बताउनुभयो ।‘चुनावका बेला दिग्भ्रमित बनाउनका लागि फेक न्यूजका कारखाना खुल्न सक्छन् । कुनै समाचार संस्थाको नामबाट त्यो आउन सक्ला । हामीले हतारिएर त्यसलाई कभरेज गर्नतिर नलागौं । आफैले स्वतन्त्र पुष्टि गरौैं,’– बस्नेतले सञ्चारकर्मीहरुलाई सुझाव दिनुभयो । उहाँले विश्वसनीयताकै कारण पत्रकारिता जगत बलियो हुने भएकाले त्यसलाई जोगाउन सञ्चारकर्मी स्वयम जुट्न आग्रह गर्नुभएको थियो । आयोगले चुनावका क्रममा मिडियाको आचारसंहिताबारे अनुगमनको जिम्मेवारी काउन्सिललाई दिएको छ । काउन्सिलले रेडिया, टिभी, छापा, अनलाईन र सामाजिक सञ्जालको अनुगमनको काम वैशाख १ गतेदेखि नै सुरु गरिसकेको जानकारी दिँदै आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारवाही हुने समेत उहाँले बताउनुभयो ।
