

भोटेकोशी गाउँपालिका वडा नम्बर १ मा लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ ।
भोटेकोशी गाउँपालिकाको सहयोग र लोकप्रिय नेत्रज्योती सञ्चार समूहको आयोजनामा मँगलबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिको सँयोजक दाबुटी शेर्पाले उद्धघाटन गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष शेर्पाले “नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने सँकल्प गरेको बताउँदै परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थामा महिलाको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको बताउनुभयो । उपाध्यक्ष शेर्पाले समाजमा विद्यमान यस प्रकारका विकृति र विसँगती विरुद्ध परिवार र समुदायस्तरमा व्यापक सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले महिलालाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरुषमा भएको असमान शक्ति संरचनामा परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । उपाध्यक्ष शेर्पाले लैङ्गिक हिंसा विरुद्ध ऐक्यबद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्नुभएको छ ।
। त्यसैगरी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख देवी काफ्लेले हिंसा न्युनिकरण गर्न स्थानीय महिला जागरुक हुनुपर्ने बताउनुभयो । उहाँले प्रत्येक वडामा सञ्चालन हुने यस कार्यक्रमले महिला हिंसा न्युनिकरणमा विशेष भुमिका खेल्न सक्नुपर्ने समेत बताउनुभयो । समाजलाई अपराधमुक्त बनाउन सबै पक्षको भूमिका उत्तिकै महत्वपूर्ण हुने धारणा काफ्लेले व्यक्त गर्नुभयो ।
त्यसक्रममा जिल्ला वार यशोसियसन सिन्धुपाल्चोकका अध्यक्ष भुपेन्द्र थिङ र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधी प्रहरी निरीक्षक नवराज सापकोटाले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । लैंगिक हिंसा विरुद्ध सचेतना तथा सशक्तिकरण कार्यक्रम गाउँपालिकाको प्रत्येक वडामा सँचालन हुनेछ ।
कार्यक्रममा जनप्रतिनिधी, शिक्षक, विद्यालय ब्यवस्थापन समितिका प्रतिनिधी, महिला स्वास्थ्य स्वयमसेविका , आमा समूहका प्रतिनिधी संघसंस्थाका प्रतिनिधि, गाउँपालिकाको कर्मचारी लगायतको सहभागीता रहेको थियो । वडा सदस्य गिता प्रधानको सभापतित्वमा भएको कार्यक्रमको लिस्तीकोट स्वास्थ्य चौकी प्रमुख रेजिन्द्र प्रसाद सुवेदीले सञ्चालन गर्नुभएको थियो भने लोकप्रिय नेत्रज्योती सँचार समुहको अध्यक्ष नेत्र बहादुर बस्नेतले स्वागत मन्तब्य राख्दै लैंगिक हिँसाको मात्रै नभएर गाउँपालिकाको अन्य कार्यक्रममा पनि हातेमालो गरेर आफुहरु अगाडी वढ्न तयार रहेको बताउनुभयो ।
