सम्पर्क

धामी झाक्रीको विश्वास गर्दा राजधानीमै १४ वर्षीय बालिकाको हत्या, तीन जना पक्राउ

धामी झाक्रीको विश्वास गर्दा राजधानीमै १४ वर्षीय बालिकाको हत्या भएको छ । सिन्धुपाल्चोक राधिका श्रेष्ठकी छोरी १४ वर्षीया छोरी रोशनीको त्रिशुलले रोपेर हत्या गरिएको हो । काठमाडौको रानीवनस्थित उमा शाही ठकुरीले उपचारलागि भन्दै आश्रममा राखेर हत्या गर्नुभएको आरोप छ । पीडितकी आमा राधिकाले उपचारका लागि छोरी रोशनीलाई रानीवन आश्रममा लानुभएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ । रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक आश्रममा बेहोस अवस्थाबाट अस्पताल लानुभएको थियो । स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लिगिएको थियो ।
अस्पताल प्रशासनले चिकित्सकीय जाँचमा उहाँको चार घन्टाअघि मृत्यु भएको जनाएपछि प्रहरीमा सो घट्नाबारे उजुरी दिइएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौले शाहीलाई पक्राउ गरिसकेको छ । स्वयम्भू प्रहरी वृत्तका प्रमुख मिलन केसीले अनुसन्धान गरिरहेका छन् । प्रहरीका अनुसार बालिकाको शरीरभरि नीलडाम छन् । खुट्टा, पिँडुला र तिघ्रामा त्रिशूलले रोपेका प्वाल छन् । टाउको र अनुहारमा पनि नीलडाम रहेको छ ।
परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले झारफुककै क्रममा बालिकाको मृत्यु भएको हुन सक्ने भएकाले अनुसन्धानका लागि माता भनिने शाहीलाई पक्राउ गरेको बताउनुभयो । झारफूकको क्रममा अत्याधिक कुटिएको जस्तो छ ,कुटाइबाट मृत्यु भएको देखिन्छ, शरीरमा घाउ देखिएको छ निलडाम देखिएको छ’, एसपी मैनालीले भन्नुभयो । मृतककी आमा राधिकाका अनुसार रोशनी भक्तपुरको धुन्चेपाखास्थित गणेश सेकेन्डरी माविमा कक्षा ६ मा अध्ययनरत हुनुहुन्थ्यो ।

उहाँको टाउको दुख्ने समस्या थियो। वेलावेला टाउको दुख्ने, छोप्ने समस्या भएपछि परिवारका सदस्यले उहाँलाई उपचारका लागि विभिन्न अस्पताल लगेका थिए । तर, चेकजाँचका क्रममा केही देखिएको थिएन । यही क्रममा रोशनीकी आमा राधिकाले टाउको दुखेको झारफुकबाट निको हुने छिमेकबाट सल्लाह अनुसार बालाजुको रानीवनस्थित माता भनिने उमाको झारफुक केन्द्र पुग्नुभएको थियो ।

पुस ३ गते उहाँहरुले छोरीलाई माताको आश्रममा लगेका थिए । त्यसयता लगातार उपचारको नाममा रोशनीलाई त्यही राखिएको थियो । प्रहरीले घटनामा संलग्न उमाविरुद्ध कर्तव्य ज्यानको कसुरअन्तर्गत मुद्धा दर्ता गरेको छ । थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको छ ।
घटनामा संलग्न अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको छ । उहाँहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । रोशनीकी आमा राधिका इँट्टा बोक्ने, बालुवा चाल्ने र गिटी कुट्ने काम गर्नुहुन्छ । उहाँका श्रीमान् यमबहादुर ७ वर्षदेखि मलेसियामा हुनुहुन्छ । उहाँहरुको ११ वर्षका छोरा र १४ वर्षकी छोरी थिए ।