मेलम्ची
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नागरिकलाई जग्गा तथा भूमि प्रशासनसँग सम्बन्धित सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्थापन शाखा सञ्चालनमा ल्याएको छ । नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानले संयुक्त रूपमा रिबन काटेर शाखाको उद्घाटन गर्दै सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
नगरपालिकाका अनुसार नयाँ शाखाबाट जग्गा प्रशासन, नापी, अभिलेख व्यवस्थापनलगायत भूमि सम्बन्धी विभिन्न प्रशासनिक तथा प्राविधिक सेवाहरू क्रमशः एकीकृत रूपमा उपलब्ध गराइनेछ । यसबाट सेवाग्राहीले सामान्य भूमि सम्बन्धी कामका लागि विभिन्न कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने र सेवा प्रवाह थप छरितो, प्रभावकारी तथा नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख तामाङले स्थानीय सरकारले नागरिकलाई घरदैलोमै गुणस्तरीय सार्वजनिक सेवा उपलब्ध गराउने लक्ष्यअनुसार भूमि व्यवस्थापन शाखा स्थापना गरिएको बताउनुभयो। उहाँले शाखा सञ्चालनले नागरिकको समय, श्रम र आर्थिक व्यय बचत गर्नुका साथै सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रमुख उमा प्रधानले भूमि प्रशासनसँग सम्बन्धित सेवामा पारदर्शिता, सहजता र प्रभावकारिता अभिवृद्धि गर्न शाखाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
नगरपालिकाले आगामी दिनमा शाखाबाट प्रदान गरिने सेवाको दायरा क्रमशः विस्तार गर्दै लैजाने जनाएको छ। यससँगै भूमि सम्बन्धी सेवामा नागरिकको पहुँच बढ्ने र स्थानीय तहबाटै अधिकांश सेवा प्राप्त गर्न सकिने वातावरण निर्माण हुने विश्वास गरिएको छ।
शाखा उद्घाटन कार्यक्रममा वडा नं. ११ का वडाध्यक्ष चन्द्रबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, भूमि व्यवस्थापन कार्यालय सिन्धुपाल्चोकका प्रमुख भूमि व्यवस्था अधिकृत माधव घिमिरे, जिल्ला नापी कार्यालयका प्रमुख गोपाल नारायण भुजेल, सुरक्षा निकायका प्रतिनिधि, विभिन्न वडाका जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
